Sunday, May 19, 2024
spot_img
Homeकला/साहित्यजिन्दगी: प्रश्न एक, जवाफ अनेक

जिन्दगी: प्रश्न एक, जवाफ अनेक

बिहानको करिब नौ बजेको हुँदो हो । लोकराज पाण्डेको इन्स्टाग्राम नोटमा “संसारमा सबैभन्दा ठूलो झुट- म आराम छु” लेखेको पङ्क्तिकारले फ्याट्ट देख्नुहुन्छ । मनमा लाग्यो कि दिमागमा आयो खै ? मन र दिमागवाला विरोधाभास उहाँको पुरानै रोग हो । यिनिहरूको कार्यविभाजनप्रति उहाँको बुझाइ अलिक कमजोर छ । उहाँ यो विरोधाभासमा बाँच्दै आउनु भएको छ ।

खैर, यहाँ भयो के भन्ने तर्फ लागौँ क्यारे । अं, नोटको रिप्लाईमा उहाँले फ्याट्ट लेख्नुभयो- “सन्चै छौ ? आराम छौ ? भन्ने प्रश्न नै गलत हो हिजोआज” । गलत प्रश्नका जवाफ गलत आउनु स्वाभाविक हो । यहीँ कुरा दिमागमा आएको हो कि मनलाई लागेको हो भन्ने नबुझेर माथी त्यति गन्थन गरिसक्नुभयो ।

पङ्क्तिकारको हातमा कप छ । कपमा कालो चिया छ । मुखमा पुरै नचपाइएको सेलरोटीको टुक्रा, जुन अर्घाखाँचीबाट २४/२५ घण्टाको यात्रापश्चात केन्द्रीय राजधानी काठमाडौं आइपुगेको हो, लाई पुरै चपाएर अब कालो चियाको एक घुट्कीले निल्नु छ, घुटुक्क । यति भनेपछि- तिहार सकिएको केही दिन पछिकै कुरा हो भनेर तपाईं अनुमान लगाउन हतार गर्नुहुन्छ, यति मनोविज्ञान पङ्क्तिकारले पनि बुझ्नुहुन्छ । र भन्नुहुन्छ, तपाईंले लगाएको अनुमान सोह्रै आना सही छ ।

“सन्चै छौ ?
कहिले सोधेका हौ ?
पछिल्लो पल्ट आफैँलाई”

माथी उल्लेखित तीन हरफ पङ्क्तिकारले केही महिना अगाडि लेख्नुभएको हो । आज आएर पाण्डेको स्टोरीले उहाँलाई यी हरफहरू याद गराएको छ । र, पुरै नचपाइएको सेलरोटी न निल्नु न ओकेल्नु बनाएको छ । यसपश्चात्, उहाँ अब स्मृतिपथ हुँदै आफ्नै मनको सम्झनालयमा प्रवेश गर्नुहुन्छ । नि: शूल्क प्रवेश । हाय, सम्झनामय जिन्दगी ।
उक्त सम्झनालयमा अन्य यस्तै खाले शब्दका हरफहरू क्रमश: भेटिदै जान्छन्, जुन यसप्रकार छन्:

१.”नसोध्नु हालखबर के छ भनी
  झस्काउछ यो पश्नले
   अक्सर हाल बिगारीदिएर
   खबर सोध्न आउँछन् मान्छेहरू”

२. “याद आउँछ
   छोड्नेहरूको पनि
   अचेल गुँड चिसो भएको छ ।”

३.”एउटै त छ मन
  र पनि बारबार दुखाउँँछन्”

४. “छुटेको प्रेम
   अति मिल्ने दौँतरी
   सम्झना मात्रै”

५. “घुम्तीमा पुग्यौ
   तिमी अलमलमा
    म बिचल्लीमा”

अक्सर, आफैँलाई बिर्सने यस्तो सामान्य परिस्थिती या समयमा यस्ता असामान्य कुराहरू भइरहनु पर्छ । स्मृतिपथ र आफ्नै मनको सम्झनालय अस्तित्वमा आइरहनु पर्छ । अलिकति आफैँलाई सम्झिन, आफैँलाई कोट्याउन, आफैँलाई नियाल्न र अन्ततः आफैँलाई एक प्रेमिल अँगालो हाल्न ।

तपाईंले पनि त आफुलाई बिर्सेर जीवनको एक टुक्रो पक्कै व्यतीत गरिसक्नु भयो होला, होइन ? यस लेखमा उल्लिखित विभिन्न प्रश्न तपाईंको जवाफ पर्खेर बसेका हुन सक्छन् । पङ्क्तीकारले आशा गर्नुहुन्छ, तपाईंले ती प्रश्नको भोक मेटाउदै अगाडि बढ्नु हुनेछ ।

उसो त यदाकदा पङ्क्तिकार “सन्चै छु ? सन्चै छैन ?” भन्ने कुरामा घोतलिरहनु हुन्छ । के हुनु सन्चो हुनु हो ? के नहुनु सन्चो नहुनु हो ? उहाँ कहिलेकाहीँ अलिक मेसो पाउँनुहुन्न । सन्चै हुँदा नि छैन कि जस्तो लाग्छ । फेरि सन्चो नहुँदा नि सन्चै छु कि झैँ लाउँछ । यो द्वन्द्व पनि मन र दिमागको जस्तै हो । उहाँले यसबाट छुटकारा पाउनुहुन्न । पाउनुहुन्न कि पाउन चाहनुहुन्न ? कहिलेकसो अलमलमै\भ्रममै बाँच्न नि मजै हुँदो हो । “हिउँ  भन्दा चिसो” नाटक याद छ नि ?

प्रश्नहरू पनि अचम्मैका हुने । सन्चै छौ ? भन्ने प्रश्नको जवाफ पनि कति घनिष्ठ व्यक्तिले प्रश्न गर्दै छ भन्ने कुराले तय गर्ने रहेछ । पङ्क्तिकारलाई लाग्छ, फ्याट्ट प्रश्न सोध्छ कसैले- सन्चै छौ ?  यस प्रश्नको जवाफ व्यक्तिअनुसार देहाय बमोजिम हुन सक्छ: यो नितान्त उहाँको परीक्षणमा आधारित हो ।

१. हजुर ठिक छ नि ।
२. ठिक छु भन्नुपर्यो ।
३. हजुर मलाई ठिक छ । हजुरलाई कस्तो छ ?
४. छु क्यारे तर रुन आइराछ ।
५. ठिक छैन, भेट्न आइजा न ।
६. अलिक दिन भयो, ठिक छैन् । चिया खाम न ।

यी जवाफमध्ये कुनै पङ्क्तिकारले आफ्नो प्रश्नको जवाफमा पाउनु भएको हो त कुनै उहाँलाई गरिएको प्रश्नमा दिनु भएको जवाफ हो । 

हुन त बिहान कुनबेला उठ्यो ? के खाजा खायो ? खाना खायो खाएन ? दिउँसो कहाँ गयो ? को को लाई भेट्यो ?  कोसँग खाजा खायो ? राती कुनबेला सम्म बस्यो ? कुनबेला सुत्यो ? भन्ने जस्ता प्रश्नहरूको छिनछिनमा जवाफ पाइने स्न्यापच्याटको युगमा सन्चै छौ भन्ने प्रश्न गरिरहन पनि नपर्ला ।

यद्यपि, कसैले सोधेको “सन्चै छौ ?” भन्ने प्रश्न मात्रै पनि कति मिठास बोकेर आउने । ठिक नहुँदा नहुँदै पनि ठिक छु भन्ने जवाफ ओठमै बोकेर बाँचेको यो समयमा कसैको यो प्रश्न यस्तो लाग्ने, हृदयको हलचल थाहा पाएर हालचाल बुझ्न खोजेजस्तो ।

यो लेखिरहँदा पङ्क्तिकार स्मरण गर्नुहुन्छ- रसिक राज दाइको एउटा स्टाटस । दाइले लेख्नु भएको थियो- ठिक छ । यो भन्नू र नभन्नु उस्तै हो ।

पङ्क्तिकारले कतै सुन्नु भएको हो । साथी यस्तो होस्, जो सँग बोल्दा के बोल्दै छु भनेर सोच्न नपरोस् । यो सँगसँगै पाण्डेको नोटले पङ्क्तिकारलाई यो पनि लागेको छ कि, साथी यस्तो होस्, जसले सन्चै छौ भन्दा मस्तिष्कमा रहेको सन्चै छु भन्ने रेडिमेड जवाफ होइन, हृदयलाई सुनेर वास्तविकता भन्न सकियोस् ।

हिजोआज एउटै घरमा बस्नुले पनि त सन्चै छ भन्ने थाहा पाउन नसकिने रहेछ । अचेल सन्चो, बिसन्चो भन्ने कुरा पनि लुकाउन मिल्ने सकिने भएको छ । एउटै कोठामा बसेर एकअर्काको आँखा जुध्दा मुस्कुराए पनि राती दुई ओछ्यानमा सुतेर रुनु ….अघि देखिएको सन्चो होइन भन्ने पङ्क्तिकारलाई लाग्छ । फेरि रुनु सन्चो नहुनु हो र ? पक्कै होइन । फेरि, विरोधाभास ?

तपाईं पछिल्लोपटक कहिले सन्चो नहुनु भएको हो ? सन्चो नभएको खबर तपाईं सुरुमा कसलाई सुनाउनु हुन्छ ? बढ्दो  उमेरले कतिपय खबर फेरि बाढ्न पनि त नसकिने । तपाईंलाई पनि सन्चो नहुँदा बच्चाबेला सबैभन्दा सुरुमा सन्चो नभएको खबर आमालाई  सुनाएको याद आउँछ ?उस्तै परे आमालाई त सुनाउनै नपर्दो हो । अन्ततोगत्वा सबै आमा उस्तै त हुन् । हेरेरै पनि थाहा पाइदिन्छन, सन्तानको सन्चो, बिसन्चो ।

पङ्क्तिकार आफू सन्चो नभएको खबर आफ्नो एकमात्र अत्यन्त घनिष्ठ मित्र आफैँलाई सुनाउनु हुन्छ, हिजोआज । तपाईंलाई कसलाई सुनाउनु हुन्छ ? यसो त, जीवन सन्चो र बिसन्चोको दोसाँधमा बाँचिरहेको बेला जरुरी पनि रहेनछ । सन्चो छु, सन्चो छैन् भनेर थाहा पाउन । अन्ततः पङ्क्तिकार तपाईं सम्पूर्णलाई सोध्नु हुन्छ, सन्चै हुनुहुन्छ ?

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको