Tuesday, May 30, 2023
spot_img
Homeघुमफिरपाँचपोखरी: एक्लै हिड्दा भेटिएका पाँच छाया

पाँचपोखरी: एक्लै हिड्दा भेटिएका पाँच छाया

यात्रा लत हो, नशा हो । यात्रा एक मादकता । एक मोह ।.. क्रमभंगता । अझ पदयात्रा ? यो एउटा कुख्यात लत भन्छु म । खैर, लत जे सुकैको होस्, लागेपछि गाह्रो बनाउनु स्वाभाविक हो । हुन त, कहिलेकाही आफूलाई गाह्रो बनाउनु पनि थेरापी हो । उसो त म परपीडक भन्दा पनि स्वपीडक हुँ । पदयात्रा पनि एक स्वपीडन हो । यद्यपि, जान अन्जानमा परपीडक पनि भए हुँला । एउटा स्वपीडनको बोधार्ध मनोभाव ।

साथीहरूसँगको योजनामा रहेको पाँचपोखरी पदयात्राले आफैँमा असफलता पाउनु र नेपाल सरकारले सोलो ट्रेकमा बन्देज लगाउनुले केही हतोत्साहित बनाएको त पक्का हो । तर, यसपटक म पछाडि हट्नेवाला थिइनँ । कोही नगए, एक्लै जान्छु भन्ने दृढ विश्वास थियो आफूमा । र त्यही विश्वासको डोरी समाउँदै पुगेकी हुँ- पाँचपोखरी र जुगल हिमालको प्रेमालाप नियाल्न । यी दुई जुगलबन्दीलाई छाम्न  ।

प्रथमतः बिन्दु भारती र म जाने कुरो थियो । मैले पठाओ बोलाएँ र पुगेँ- नारायणटारको बसपार्क । जाँदाजाँदै टिकट काउन्टर बन्द भएछ । अर्को झट्काको पिङ मच्चियो । अझ पिङ मच्याउँदै काउन्टर वरपरका दाइहरू थप्छन, “दुईवटा बसमात्र जान्छन् । त्यो पनि बाटो बिग्रिएकाले राम्चेसम्म मात्र । पहिलो बस त प्याक भइसक्यो ।”  म गइनँ किनभने दोस्रो बस मेरो समय तालिकामा पर्दैनथ्यो । 

होइन, यो पाली जानै लेखेको छैन कि क्या हो भन्ने लाग्यो । हतोत्साहको मात्रा बढेर सगरमाथा नै छुन्छ जस्तो हुन्छ । म केही बोलिनँ, मैले केही देखिनँ, केही बुझ्न सकिनँ । सरासर फर्किएँ, अघिकै पठाओमा बसेँ र कोठा फर्किएँ । 

म आफैँलाई स्वपीडन दिइरहेकै थिएँ, अब पाँचपोखरी जान रोक्ने अर्को कारणले थप घाउ बनायो । म त्यही कोट्याउँदै बसिरहेँ । के के पो हुन सक्दो रहेछ भनेर हेरिरहें ।..बिन्दु पनि केही कारणवश जान नसक्ने हुँदा । मेरो मौनताले मौन धारण गर्यो । 

***

भोलिपल्ट ।

यो पटक म पक्का थिएँ, अटेर जिन्दगीको अगाडि म अझ अटेर बन्ने कुरामा । बिहान ०५:१० को लागि राखेको अर्लाम बजिसक्यो । उठ्न त म कलेज जाउँ कि भन्ने सुरले उठेकी थिएँ तर अटेरी मनले भनिरहेथ्यो- ‘यात्रामा मान्छे कहिले एक्लो हुँदैन, एक्लै भएँ भनेर आफ्नो योजनामा पानी फेर्नु मुर्खता हो ।’

जे पर्ला पर्ला बसको सिट नै प्याक रहेछन् भने पनि गल्लीमै बसेर जान्छु भन्ने अठोट लिएँ । यसपछि मन फक्रक्क फुल्यो । फुलेको मनलाई ओइलाउन नदिने हठ लिएँ र दौडिए बसपार्कतिर अर्थात् नारायणटारतिर । मनको अगाडि अरु कुराले खासै महत्त्व पाए जस्तो मलाई लाग्दैन । ‘जिद्धि मनको जय होस्’ भन्दै आवश्यक लुगा कोचकाच पारेर लागेँ, नारायणटारतिर । सौभाग्य भनौँ, एक मिनेट मात्रै ढिलो भएको भए बस छुट्ने रहेछ । 

र, अलिकतिले नछुटेको बसमा म बल्लबल्ल खुट्टा अटाउँछु । यद्दपी सिट पाइदैन भन्ने त अघिल्लो दिन नै थाहा थियो । कोचकाचको कोलाहलमय वातावरणसँग मौनताले जुगलबन्दी गर्यो । यो पनि यात्राको मिठास हो भन्ने ठानेँ । सुपर बसको लोकल पारासँग सम्झौता गरें । 

सुपर बस- स्थानीयहरूलाई नचढाइ, ठाउँ ठाउँमा नरोकी लैजान्छ भनेर बिहानै गएको । भइदियो ठिक उल्टो । सुपर बसले ‘लोकल पारा’ देखायो । हिड्न हिडेको मान्छे, बसमा पनि उभिन पर्ने भयो । खुट्टा अभ्यस्त हुन्छन् भन्ने सोचेँ । 

यसरी हुत्तिदै हुत्तिदै बिहानको करिब नौ बजे राम्चे पुगियो । आखिर जिन्दगीले पनि त हुत्त्याईरहने नै हो ।  पर परको उमेरसम्म । केही रहरसम्म । केही वास्तविकतासम्म र केही सपनासम्म । उक्त बसले हामी यात्रुलाई राम्चेसम्म मात्र हुत्त्याउने निश्चित थियो  । र त्यहाँबाट छिम्तिसम्म अर्को हुत्याईको पर्खाई निश्चित थियो । एउटा विसंगत बाध्यतालाई मैले स्वभावतः ग्रहण गरेँ । 

***

यात्रामा कोही एक्लो हुँदैन

अर्को बस चढ्ने तरखरमा थिएँ; अचानक एकजना प्रश्न तेर्स्याउनु हुन्छ- ‘तपाईं पनि पाँचपोखरीसम्म ?’
‘हजुर’, म जवाफ सोझ्याउँछु ।
उहाँ छक्क पर्दै फेरी सोध्नुहुन्छ- “एक्लै ?”
म अलिकति रुखो स्वरमा भन्छु- “मेरो वरिपरी कोही देख्नु भो ?”
यति भनेपछि मलाई लाग्छ, यति रुष्ट भएर नबोलेको भए तेरो के जान्थ्यो । आफैंलाई केहीबेरसम्म कस्तो कस्तो लागिरह्यो ।

यसरी भोको पेट लिएर अर्को गाडीमा पनि उभिनै पर्यो । म अलिक खाइरहनु पर्ने मान्छे, फेरी बिहान केही खानेकुरा किन्ने समय पाएको पनि होइन । मम्मी भए पो मलाई भोक लागेको अनुहार हेरेरै थाहा पाइदिनु हुन्थ्यो । आमाहरू कति चलाख हुने हगि ! कौवा त यसै बदनाम छ, संसारमा सबैभन्दा बढी चलाख कोही छ भने ती हुन् आमा । कति सजिलै बुझिदिन्छिन, आफ्ना सन्तानका रहर, चाहना, सपना, इच्छा र आवश्यकतालाई ।

यसरी, करीब साढे एघार बजेसम्म कसरी उभिएँ, त्यो मलाई मात्रै थाहा छ । भोक लाग्दा रुन आउन मान्छे म त्यो असहज यात्रासँग सहजीकरण गर्दै मुस्कुराइरहेको थिएँ । हाय, पाँचपोखरी पुगिछाड्ने हठको म कसप्रकार गुलाम भए !  जिउ पो गलेको, पेट पो भोकाएको, मन त अघाउँदै छ । नाच्दै छ नि । हाहा..! 

भोताङ पुग्नु अलिक अगाडि लास्टमा एउटा सिट खाली हुन्छ । उभिने करीब पन्ध्र जना थियौँ होला । जसमा केटी म मात्रै थिएँ । चारजना दाइहरूको टोलीमध्ये एकजना भन्नुहुन्छ- “हामीले सिट पाएको हो ?”
 अर्को दाई मलाई देखाउँदै भन्नुहुन्छ, “उहाँलाई बस्न दिउँ ल ।”
 मलाई लाग्छ, अब म बाचेँ । 

उक्त बसमा मात्रै पाँचपोखरी जाने हामी सोह्र जना रहेछौँ । छिम्ती पुगेर ओर्लिए पछि थाहा हुन्छ । भनेकै थिएँ नि, यात्रामा कोही एक्लो हुँदैन । 

***

चार घण्टा हिडेर टुप्पी डाँडा

भिम अर्जुन शङ्कर होटेलमा भात खान जाँदै गर्दा भेटिन्छौँ, अविक, अनुप, सन्जीव, प्रतिज्ञा, सारा र म । एक्लै हिड्छु भनेर घरबाट निस्केको मान्छे साथीहरू भेटिए भन्ने कुराले केही क्षण मनिलो पनि लाग्यो ।  तर, यात्राको विशेषता नै यहीँ हो । कहाँ हो कहाँको मान्छेलाई एकछिनमा,  छुटिएर वर्षौपछि भेटिएका आफ्नाहरू जस्तै बनाइदिन्छ । हामी पनि एक टोली बन्यौँ र सुरु गर्यौं पदयात्रा पाँचपोखरीको । 

एक्लै जाने भए वडा अध्यक्षलाई फोन गरी के कस्तो छ अवस्था बुझेर जानु है भनी नम्बर पठाइदिएका प्रशान्त नेपाललाई बाल नदिई म मस्त वर्षौंदेखि चिनेजसरी उनीहरूसँग हिडिरहेथे । उनीहरूको व्यवहारले यति छिटै यति नजिक बनायो कि हामी मस्त हाँस्दै, रमाउँदै उकालो लागिरह्यौँ । सुरुकै ठाडो उकालोले एक बजेको घाममा भर्खर भात खाएको भुडीलाई ‘लौ खा’ भनिहाल्यो । 

उसो त यात्रामा नसरत फातेह अलि खान, पियुष मिश्र, अरजित सिंह, सुजन चापागाई, प्रेमधोज प्रधान लगायतले साथ दिन सुरु गरिसकेका थिए । बाटोमा लालीगुराँस फुलेको देखिन थालिसकेका थिए । म्याल र अन्य पहेंला फूलहरूले त पहिलेदेखि नै स्वागत गरिसकेका थिए । लालीगुराँस देखेपछि अविक भन्नुहुन्छ- ‘टिप्दिम ।’
‘टिप्नेहरूले भन्दा हेर्नेहरूले बेसी माया गर्छन् हौँ’, प्रस्तुत डायलग लालीगुराँस हेर्दै टोलाउने सन्जीवको हो । ‘जीवन नै ध्यान हो, ध्यान नै जीवन हो भन न सन्जीव’ भन्दै जिस्क्याउने मान्छे अनुप हो । हाहा ! 

त्यसदिन हामी करीब चार घण्टा हिडेर टुप्पी डाँडा पुगेर (साझ ५ बजे आसपास)) होमस्टेमा बस्यौँ । यहाँ पुग्दासम्म तीन प्रकारका लालीगुराँस देखिन थालिसकेका थिए । जंगलमा मयलको झुसलाई हत्केलामा लिँदै राता, सेता र पिङ्क रङका लालीगुराँसलाई नियाल्यौँ । यसमा सन्जीवाले कोइलीको आवाज निकाल्दै वसन्तको यौवनलाई डाँकि दिनुभयो ।

डाँडाको टुप्पो भन्ने अर्थमा यस नामलाई लियौँ । सारा र प्रतिज्ञा टुप्पी डाँडाको टुप्पी नियाल्न आएको सूर्यास्तलाई क्यामेरामा कैद गर्दै थिए । र उनीहरूलाई सन्जीवले गफ दिइरहेको थियो, यो भनेर कि, ‘माथिपट्टी अलिकति हिउँ परेको डाँडा गणेश हिमाल हो’ भनेर ।
होइन रहेछ, त्यो त हामी हिड्नु पर्ने डाँडा थियो, जहाँ त्यो दिन नै हिउँ परेको थियो । 

टुप्पी डाँडाको एक वासको रौनक बेग्लै थियो । हरेक यात्राले यात्रीमा एउटा उत्सुकता, जोस्, जाँगर र कौतुहलता थपिदिएको हुन्छ । त्यहाँको रौनकताले हामीलाई अझ हौस्याएको थियो । साँझतिर हरीबहादुर दाइ र अविकले गीत गाएर रमाइलो वातावरण सिर्जना गर्छन् । उपरोक्त सम्बन्धमा हरीबहादुर नाम हरिवंश आचार्यको क्यारिकेचर गरिएकाले राखिएको हो । यसको पण्डित हुनु हुन्थ्यो, सन्जीव राना मगर ।  त्यतिबेला मैले गोसाइँकुण्ड यात्राका बिन्दु, सागर, गोविन्द, नितेश र योगेश भाइलाई खुब मिस गरें । 

म अलिक बढी थकाइ लागेका कारण छिटै सुत्न गएँ, साथीहरू गफ गर्दै थिए । कारण, पिरियड सुरु हुनु पनि थियो । पिरियड सुरु हुनु, हुन त प्राकृतिक कुरा हो । तर, एउटा स्त्रीका लागि यो उति सामान्य कुरा पनि होइन । अझ, यात्रामा ! यस बेलामा हुने मुड स्विङ, इरिटेसन, शारीरिक तथा मानसिक तनाव बेग्लै हुन्छन् ।

भोलिपल्ट कसरी हिड्ने भनेर सातो गइसकेको थियो । हुन त, पिरियडमा सामान्य व्यायाम जरुरी रहेको चिकित्साशास्त्र बताउँछ । यही सम्झेर चित्त बुझाएँ । तर, बिहानदेखि साँझसम्म उकालो चढ्नु त सामान्य व्यायाम थिएन । फेरी पनि देखा जाएगा भनि सुत्दिएँ ।

***

दोस्रो दिन ।

अर्को दिन हामीलाई पुग्नेपर्ने थियो गन्तव्यमा अर्थात् पाँचपोखरी । हामीले छ बजे बिहान निस्किने भनेका थियौँ तर निस्कियौँ सात बजे । नेपाली टाइम भन्ने पदावलीलाई सही सावित गरिदियौँ । यस्ता सावित गर्ने कुरामा त हामी कहाँ पछाडि पर्छौं र ?

तीन घण्टाजति यो ढुङ्गा ओछ्याएको उकालो बाटो उक्लिरह्यौँ । यस अवधिमा मेरो मोबाइलमा एउटा र सन्जीवको मुखमा अर्को गीत बजिरह्यो । पदयात्रीका आ-आफ्ना संगीत । चोकर डाँडा पुगेर भात खायौँ ।  भात खाएको पैसै नतिरी भाइलाई मिठ्ठो खाना खुवाउनु भयो धन्यवाद भनेर निस्किएछु,.. । मेरो दिमाग ! उक्त कुरा नोश्यामपाटी पुगेपछि मात्र थाहा पाएँ । फर्किदा तिर्ने तय भयो । 

३६५७ मिटर अग्लो स्थानमा रहेको नोस्याङपाटी  दृश्यावलोकनको लागि उपयुक्त छ । यहाँबाट जुगल हिमाल रेन्ज, दोर्जे लाक्पा, गन्छेपो हिमाल देख्न सकिन्छ । जति जति माथि पुग्यो, त्यति त्यति मौसम छिनछिनमा परिवर्तन भइरहेथ्यो । जिन्दगी र मौसम नि उस्तै छन् । कुनबेला कस्तोबाट कस्तो भइ जान्छन्, पत्तै नहुने । मौसमले भर्खर प्रेमसम्बन्धमा परेकी युवतीले आफ्न्रो प्रेमीलाई जिस्काए जसरी घरी खुलेर त घरी धुम्म परेर जिस्काइरहेथ्यो । कुन बेला के हुँदैछ, थाहै नहुने । हुन त, यसरी थाहा नहुनुमा पनि बेग्लै मजा छ । त्यसैले त हरेक दिनको महत्त्व बेग्लै छ यहाँ । 

हिड्दा हिड्दै अनुप धेरै अगाडि पुग्नु भयो, सन्जीव पनि नोश्यामपाटीबाट एक्लै हिड्नु भयो । बाँकी रह्यौँ हामी हिड्न नसक्ने टोली । प्रतिज्ञालाई अलिक बेसी गाह्रो भयो । यसरी, जसरी, तसरी, चार हात पाउ टेक्दै हामी करीब पाँच बजेतिर पाँचपोखरी पुग्यौं । 

यात्रामा प्राय: त्यो यात्रा भन्दा पहिला सम्पन्न भएका यात्रा र त्यसपछिका लागि तय गरिएका यात्राका कुरा गरिनु सामान्य मानिन्छ । यसै होडबाजीमा भिम अर्जुन शंकर होटेलको चुल्हो तताउँदै हामी बुटवलका दाइहरूको “हिस्ट्री अफ ट्राभल” सुन्छौँ, हेर्छौं र मख्ख पर्छौं । अझ लाङटाङको फोटो हेर्दा त अहिल्यै कुदिहालौं जस्तो हुन्छ । तर के गर्नु, सोच्ने बित्तिकै नहुने । यदि त्यसो हुँदो हो त, जिन्दगी यति महत्त्वाकांक्षीमय पनि हुने थिएन ।

चिसो अलि बढी लागेर हो कि, उचाईको असर हो । यो दिन अलिक गाह्रो गाह्रो बनायो । सबैजना छिटै सुत्यौँ । 

***

तेस्रो दिन 

बिहान करीब छ बजे अदुवा चपाउँदै हाम्रो टोली भ्यू पोइन्टतर्फको उकालो लाग्यो । बिहान आधी घन्टा जति खुट्टा हिड्नै मान्दैन, जबर्जस्ति गर्नुपर्छ । सोही गरियो । थाकेका खुट्टालाई मुभ स्प्रे दिएर फकाइयो । र, हामी लोत पर्दै अघि बढियो ।

सुर्यकुण्डको तिरैतिर अगाडि बढिरहेका हामी अचानक बाटो सकिएपछि एकछिन अलमलमा पर्यौं । अघिल्लो दिनको हिउँ, तँगारो बन्न आएको थियो । 

जिन्दगी न हो कहिले बाटो सकिन्छ त कहिले हिड्नुपर्ने कारण । कहिले जागर सकिन्छ त कहिले आवश्यकता । कहिले हिम्मत सकिन्छ त कहिले अर्थ । बाँच्नुनपर्ने धेरै कारण जस्तै बाँच्नु पर्ने कारण पनि धेरै हुन् सक्छन । बस् कुन कारणलाई खोतल्ने र कुन कारणलाई प्राथमिकता दिने भन्ने कुरा न हो । हामीले हिड्नुलाई नै प्राथमिकता दियौँ । 

जिन्दगी हिडाई जस्तै त हो । ठोकुवा नै गर्न मन छ भने हो नै पनि भन्न सक्नुहुन्छ । कहिले खुट्टा दुख्छन् त कहिले मन । कहिले थकाइ त कहिले विश्राम । कहिले एक्लै त कहिले सहयात्री । कहिले गाह्रो त कहिले सजिलो । कहिले अलमल त कहिले स्पष्टता । आखिर सवारीसाधन चलिरहन पनि त पेट्रोलियम पदार्थ भरिरहनु पर्छ । घडी पनि चलिरहन ब्याट्री फेरिरहनु पर्छ । सम्बन्ध त झन् छिटो छिटो झर्को लाग्ने कुरा हो । यसलाई पनि बेला बेला रिन्यु गरिरहनुपर्छ । यो त झन् जिन्दगी हो यसलाई त के के आवश्यक पर्छ पर्छ ।

सम्बन्ध रिन्युको कुरा गर्दा म यसै नयनराज पाण्डेको यार पुस्तक सम्झन्छु । उहाँ लेख्नुहुन्छ- “स्मृतिकै डिफ्रिजमा राखेर मात्र सम्बन्धलाई ताजा र सुरक्षित बनाउन कहाँ सकिँदो रहेछ र ? सम्बन्धलाई त ड्राइभिङ लाइसेन्सझैँ नवीकरण गरिरहनुपर्दो रहेछ । नत्र अत्यन्त आत्मीय अनुहार पनि ब्ल्याक एण्ड ह्वाइटका युगौँ पुराना तस्बीरझैँ धुमिल भएर जाँदा रहेछन् ।”  यसरी बाँच्नुको कारण खोजेजस्तै, हामीले पनि गन्तव्यको लागी बाटो खोज्यौँ र पुग्यौँ जुगल हिमालको अघिल्तिर जहाँबाट स्पष्ट देख्न सकिन्थ्यो पाँचपोखरी अर्थात् सुर्यकुण्ड, नागकुण्ड, सरस्वतीकुण्ड, गणेशकुण्ड र भैरवकुण्ड । 

भनिन्छ, ‘यात्राको मिठास गन्तव्यमा भन्दा, उक्त गन्तव्यमा पुगुन्जेलको समयमा हुन्छ ।’ म पनि यसमा स्वीकारोक्ति दिन्छु । तर, यो भन्दै गर्दा जुगल र पाँचपोखरीलाई एकैठाउँबाट देख्न पाउँदा हिउँमा लडेको आनन्दलाई कसरी नकार्न सक्छु म । सुन्दरताको पराकाष्ठामा मान्छे भावशून्य हुँदो रैछ, म नि भएँ । र, यस्तो लेखे:

कति थोक भन्नू छ
कति थोक लेख्नु छ
तर मन,
हराइरहेछ ।
यसै यसै शून्यतामा ।

केही बोल्न नआउनु
केही लेख्न नआउनु
केही कुरा प्रस्तुत गर्न नआउनु
कुनै भाव प्रस्फुटन नहुनु
के यो शून्यता हो?

खुशीले यसै यसै
चिच्याई दिउ जस्तो
हर्षले यसै यसै 
रोइदिउँ रोइदिउँ जस्तो
कस्तो पागल भइदिउँ भइदिउँ जस्तो

यार,
यी गन्तव्य र यात्रा यस्तै हुँदा रहेछन ।

म यतिखेर ठिक पाँचपोखरी र
जुगल हिमालको बिचमा छु ।
हाय!
यो अनुभूति
हाय!
यो हर्षित मन ।

यसरी केहीबेर हामी जुगल र पाँचपोखरीको सुन्दरतामै लट्ठ पर्छौं । फोनले र आँखाले जति सक्दो सुन्दरता निल्छौँ र फर्किन हतार भएजसरी ओर्लिन्छौँ ।

***

इन्द्रावती नदीको उद्गम पाँचपोखरी (४,०६५ मिटर),  बुद्ध र हिन्दु धर्मावलम्बीका लागि पवित्र धार्मिक स्थल हो । ठुली एकादशी र जनपूर्णिमाका दिन पाँच पोखरी धाममा भव्य मेला लाग्छ जसमा सयौँ भक्तजनहरूको घुइँचो लाग्छ । बुद्धिस्टहरू यस स्थानलाई महागुरु पद्मसंभव, महायोगी मिलारेपा, आमा याङ्ग्रीदेखि अनन्त अवतारी लामा गुरुले तपस्या गरेको भूमि मान्छन् ।

हिउँ परेको बेला हिमालनजिकै हिउँमा  हिड्दा हिड्दा त्यहाँ सीमान्त उपयोगिता ह्रासको नियम अर्थात् ल अफ डिमीनिसीङ मार्जिनल युटिलिटीको सिद्दान्त लागू भैसकेको थियो । हिउँ देखेर वाक्क लागिसकेको थियो ।

हामीलाई साँझसम्म छिम्ती पुग्नु थियो फेरी भोलीपल्ट बस नपाइएला भन्ने डरले । हतार हतारमा म इन्द्रावती मुहान पुग्न भ्याउदिनँ । ठिकै छ, जिन्दगीमा सबै खुशी एउटै पोल्टामा पनि त अटाउदैन । म माथिबाटै शिव मन्दिर र इन्द्रावतीको मुहान नियाल्छु ।

यसरी हामी करीब दश बजे पाँचपोखरीबाट ओरालो लाग्यौँ । नौ घण्टा ओरालो झरेपछि साँझ सात बजे हामी छिम्ती आइपुग्यौँ । टुप्पीडाँडाबाट छिम्ती कसरी आइयो थाहा नै छैन । थकाइको पराकाष्ठा भेट्यौँ । 

***

चौथो दिन:

प्रतिज्ञा र साराको हिडाईको पेस घटेको हुँदा उनीहरू भोली भोलीपल्ट बिहानै आइपुगे । चौथो दिन साढे छ बजे लाग्यौँ, पुरानै जिन्दगीको दैनिकीतर्फ ।

***

जाँदाजाँदै, 

हरेक कुराको अर्थ र सार्थकता हुन्छ । ती कुरालाई अर्थपूर्ण र सार्थक बनाउन अरु स-साना कुराहरूले महत्त्वपूर्ण भूमिका खेलेका हुन्छन् । जसरी मृत्युको सार्थकतामा जीवनको अहम् भूमिका हुन्छ । 

हाम्रो यात्रा अर्थपुर्ण र सार्थक रहनुमा पनि विभिन्न याद, पल र क्षणहरूले अहम् भूमिका खेलेका छन् । यो यात्रा सार्थक बनाउनमा एक्लै हिड्दा भेटिएका पाँच छायाँ ’अविक, सारा, सन्जीव, प्रतिज्ञा र अनुप’प्रति हार्दिक आभार । अन्त्यमा यात्रासंस्मरण त आउनु पर्छ है भन्ने मदन दुलाल र लेख्न आइरा छैन भन्दा, आँखा चिम्लिनु अनि लेख्न बस्नु भनी ढाडस दिने सुरज सुवेदी दाईलाई विशेष धन्यवाद ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको