काठमाडौं, २९ चैत। सांसद डा तोशिमा कार्कीले देशमा निर्माण भएका वा निर्माणाधीन ठूला होटल, अपार्टमेन्ट र व्यावसायिक भवनको वैधता छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेकी छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। “देशभरका ठूला भवन, अपार्टमेन्ट र होटलको वैधता छानबिन गरिनुपर्छ। खाका स्वीकृति र वातावरणीय प्रभाव मूल्याङ्कनजस्ता आवश्यक प्रक्रिया पालना गरे वा भएनन्, त्यसलाई हेर्नु पर्छ,” उनले भनिन्।
उनले ललितपुरको बखुन्डोलमा १८ रोपनी जग्गामा १६ तले अपार्टमेन्ट निर्माण गर्दा वरपरका घरमा परेको नकारात्मक असरको उल्लेख गरिन्। उनले पीडितलाई क्षतिपूर्ति र घटनामा संलग्नलाई कारबाही गर्न पनि माग गरिन्। (रासस)