काठमाडौं, ३ चैत। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकदिवसीय विश्वकप छनोटमा नेपाल प्रवेश गर्न सफल भएपछी नेपाली क्रिकेट खेलाडीलाई रु तीन लाख नगदसहित सम्मान गर्ने घोषणा गरेका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान खेलाडीहरुलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन्।
उनले भने, “खेलाडीले हिजो खेलेको तरिकाबाट म धेरै खुसी छु। यो जित खेलाडीको मात्रै नभई देशको पनि जित हो। यसले देशको स्वाभिमान र गौरवलाई उच्च बनाएको छ। आगामी दिनमा पनि खेलाडीको प्रदर्शन अझ राम्रो होस्।” म सधै खेलाडीहरुको साथमा छु।”
प्रधानमन्त्री दाहालले सरकारले यसअघि खेलाडीलाई दुई लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरेको बताए।
सो अवसरमा उनले कीर्तिपुरस्थित क्रिकेट मैदानमा तत्काल आधुनिक फ्ल्याट बत्ती र स्कोर बोर्ड जडान गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए।
प्रधानमन्त्रीले भने, ‘मुलपानी, चितवनलगायत देशका विभिन्न स्थानमा निर्माणाधीन क्रिकेट मैदानको निर्माण कार्यलाई तीव्रता दिन आवश्यक व्यवस्था मिलाउने सरकारको तर्फबाट म प्रतिबद्धता व्यक्त गर्दछु।
क्रिकेट खेलाडीको मेहनतलाई सरकारले मान्यता र सम्मान गर्ने बताउँदै उनले आगामी दिनमा खेलाडीलाई भौतिक पूर्वाधारको विकास र थप सुविधाको व्यवस्था गर्ने आश्वासन दिए।
कार्यक्रममा राष्ट्रिय सुरक्षा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो। (रासस)