काठमाडौं, १७ माघ। गौरीशंकर संरक्षण क्षेत्रअन्तर्गत रामेछापको गुम्देलमा तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन। चम्रु जंगलमा आइतबारदेखि आगलागी भएको थियो।
आगो निभाउन विभिन्न पहल गरिए पनि भिरालो र घना जंगल भएकाले आगो नियन्त्रणमा लिन समस्या भएको प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले बताए।
‘नेपाली सेना, नेपाल प्रहरी, वनकर्मी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ,’ जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक समेत रहेका रेग्मीले बताए। “यद्यपि, हाम्रो प्रयास व्यर्थ भएको छ।”
आगो नियन्त्रणमा लिन करिब १ सय ५० स्थानीयको संलग्नता रहेको रेग्मीले जानकारी दिए।
आगलागी तत्काल नियन्त्रण नगरिए सानो वाल्डिङ, चमरु र ज्यादे कुदार क्षेत्रमा फैलिन सक्ने स्थानीय बताउछन्।