काठमाडौं, १६ माघ। राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्र स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन आहुति दिने शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठलगायत सबै ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।
शहीद दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले आज देश र जनताका लागि जीवन आहुति दिने सहिदहरूको विशेष स्मरणको दिन भएको बताइन्। नेपाली जनता स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न बन्नका लागि कालान्तरमा अत्याचारी शासक र व्यवस्थाका विरुद्ध लडेका शहीदहरुको वीरतापूर्ण कार्यको सम्झनामा माघ १६ लाई शहीद दिवसका रुपमा मनाइन्छ।
आज हामीले जुन स्वतन्त्रता र अधिकारको उपभोग गरिरहेका छौँ त्यो शहीदको उपज हो, सन्देशमा राष्ट्रपति भण्डारीले दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि हाम्रो पहल नै शहीदप्रति सच्चा श्रद्धाञ्जली हुने उल्लेख गर्नुभएको छ। उनले शहीद दिवसले न्याय, समतामूलक र सभ्य समाज र समृद्ध राष्ट्रको शहीदको सपना साकार पार्न सबैलाई आ–आफ्नो तर्फबाट रचनात्मक भूमिका खेल्न प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ।