काठमाडौं, १४ माघ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आफ्नो पारिश्रमिक शिक्षा क्षेत्रमा दिने बताएका छन्।
मन्त्री किरातीले पदभार ग्रहण गर्दै आफन्त तथा शुभचिन्तकलाई माला र खादाले स्वागत नगर्न आग्रह गरेका थिए। उनले चन्दा पेटी स्थापना गर्ने र त्यसबाट हुने आम्दानी दुर्गम स्थानमा शिक्षामा खर्च गर्ने घोषणा पनि गरेका थिए।
हिजोसम्म चन्दा पेटीमा जम्मा भएको रकम, सचिवालयमा आफ्नो एक महिनाको तलब र आधा महिनाको प्रोत्साहन रकम गरी ६ लाख ०४ हजार रुपैयाँ शिक्षामा खर्च हुने उनले बताए।
मन्त्रीले दुर्गम क्षेत्रका विद्यालयका लागि पनि घुम्ती कोष खडा गरिने बताए। (रासस)