काठमाडौं, १६ साउन। ललितपुरका केही बस्तीमा डेंगुको संक्रमण पुष्टि भएको छ। ललितपुर महानगरपालिकाका वडा नं ५ र १४ र महालक्ष्मी नगरपालिकाका केही वडामा डेंगुको सङ्क्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा सतिश विष्टले जानकारी दिनुभयो।
मानभवन, कुमारीपाटी, तिखिडेवल र महालक्ष्मीमा डेंगुका बिरामी भेटिएसँगै हामीले ती क्षेत्रमा लामखुट्टे खोज्ने र नष्ट गर्ने अभियान सुरु गरेका छौं। उनका अनुसार जिल्लामा अहिलेसम्म ३१ जनामा डेंगुको पुष्टि भएको छ।
संक्रमणको जोखिम न्यूनीकरण गर्न कार्यालयले सर्वसाधारणलाई आफ्नो घरको बालकनीदेखि घरको आँगन, बगैचालगायत घरको वरपर सफा राख्न र घर वरपर खाल्डाहरु पुर्न आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय ललितपुर र स्थानीय तहले डेंगुको सङ्क्रमण देखिएका क्षेत्रमा सरसफाइका लागि टोली परिचालन गरेका छन्। डेंगु लामखुट्टेबाट सर्ने रोग हो र संयुक्त राष्ट्रसंघका अनुसार यो रोग सर्ने मुख्य भेक्टर एडिस एजिप्टाई लामखुट्टे हुन्।



