काठमाडौं, ७ असार। प्राच्य दर्शनमा अनुसन्धान गर्न चाहनेहरूलाई लक्षित गरी अध्ययन केन्द्र स्थापना गरिनेछ। पशुपति क्षेत्र विकास कोषले आफ्नो प्रस्तावित गुरु योजनामा पथुपति क्षेत्रमा ‘पथुपति अध्ययन केन्द्र’ नामक केन्द्र स्थापना गर्ने अवधारणा लिएको छ।
आयोजनाको स्थान नेपाल वेद विद्याश्रम नजिकै छ। पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदबाट गुरुयोजना स्वीकृत भई मन्त्रिपरिषद्को अनुमोदनको पर्खाइमा छ।
प्रस्तावित केन्द्रको डिजाइन तयार भइसकेको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए। आयोजनाको लागत ८६ करोड रुपैयाँ अनुमान गरिएको छ। आयोजनाका लागि चन्दा संकलनका लागि पनि छलफल भइरहेको उनले बताए। विद्याश्रमले २०३१ सालमा स्थापना गरेको र पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित पुस्तकालयलाई एकीकृत गरी नयाँ पुस्तकालय स्थापना गरिएको हो।
पुस्तकालयमा वेद, शिवपुराण, नेपाली निघन्टु, प्राच्य दर्शनसँग सम्बन्धित विभिन्न विधाका करिब ५ हजार पुस्तक छन्। २०५६ सालदेखि पशुपति क्षेत्र विकास कोषद्वारा सञ्चालित विद्याश्रमलाई पनि स्तरोन्नति गरिने छ।
विद्याश्रमका विद्यार्थी र पशुपतिनाथको दर्शन गर्न आउनेहरूका लागि पुस्तकालय पहुँचयोग्य रहेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा मिलनकुमार थापाले बताए।
पशुपतिनाथ मन्दिरमा वर्षेनी स्वदेश तथा विदेशबाट हजारौंको संख्यामा दर्शनार्थीहरु दर्शन गर्न आउने गर्दछन्। पशुपतिनाथ मन्दिर र प्राच्य दर्शनको जानकारी दिने निकायको अभाव रहेको बताइएको छ। त्यसैले अभाव पूर्ति गर्न केन्द्र स्थापना गर्ने अवधारणा आएको खतिवडाले बताए। (रासस)