काठमाडौं, ९ वैशाख। आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
निर्वाचन आयोगले भोलि बारा–२, चितवन–१ र तनहुँ–१ मा हुने उपनिर्वाचनमा मताधिकार प्रयोग गर्न सबै मतदातालाई अपिल पनि गरेको छ।
तोकिएको मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुनेछ। आयोगले निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न गर्न विशेष पहल गरेको जनाएको छ।
मौन अवधि निर्वाचनको समयभन्दा ४८ घण्टा अगाडि नै सुरु भइसकेको छ। मौन अवधिमा राजनीतिक दल र उम्मेदवारले प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न पाइने छैन।
निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि आयोगले निर्वाचन अनुगमन समिति, विशेष अनुगमन समिति र अनुगमन अधिकृत खटाएको छ।
मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मीले पनि निर्वाचन आचारसंहिता उल्लङ्घन भए नभएको अनुगमन गरिरहेको आयोगका सहायक प्रवक्ता गुरुप्रसाद वाग्लेले जानकारी दिए।
निर्वाचनको दिन सम्बन्धित जिल्लामा आवतजावत र सवारी साधन सञ्चालन स्थानीय प्रशासनले तोकेबमोजिम हुने आयोगको निर्देशन छ।
मतदानको समयमा सम्भावित प्रतिकूल मौसमको पूर्वतयारीका लागि पाललगायत व्यवस्था गर्न स्थानीय प्रशासन र स्थानीय तहलाई आवश्यक निर्देशन दिइएको छ।
निर्वाचन प्रक्रियालाई बिथोल्ने काममा संलग्नलाई कानूनबमोजिम कारबाही गर्न र निर्वाध रुपमा निर्वाचन सम्पन्न गर्न आयोगले यसअघि नै सम्बन्धित निकायलाई निर्देशन दिएको छ।
उपनिर्वाचन सफल बनाउन राजनीतिक दल, उम्मेदवार, मतदाता, नागरिक समाज, सञ्चारमाध्यमलगायत सरोकारवाला सबैले सहयोग र सहभागिता जनाउने विश्वास आयोगले व्यक्त गरेको छ। (रासस)