काठमाडौं, १६ फागुन। नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गर्न संघीय संसदमा रहेका सबै राजनीतिक दललाई अपिल गरेको छ।
आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदैछ। पार्टीले सोमबार संघीय संसदमा रहेका सबै दललाई पत्राचार गर्दै निर्वाचनमा पार्टीको उम्मेदवारलाई भोट दिन आग्रह गरेको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
राष्ट्रपतिका लागि कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी, जनता पार्टी, राष्ट्रिय जनमोर्चा र नागरिक उन्मुक्ति पार्टी गरी आठ दलको सहमतिमा पौडेल उम्मेदवार छन्। उनले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका हुन्।
त्यस्तै राष्ट्रपति निर्वाचनको पछिल्लो राजनीतिक समीकरणका कारण सोमबार माओवादी नेतृत्वको सरकार छाड्ने निर्णय गरेको नेकपा (एमाले)ले पनि राष्ट्रपतिको उम्मेदवारमा सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाएको छ।