काठमाडौं, ११ माघ। पोखरामा गत माघ १ मा भएको विमान दुर्घटनामा परी ज्यान गुमाउने ६ जनाको अझै सनाखत हुन सकेको छैन। उनीहरुको डिएनए परीक्षणबाटै पहिचान खुल्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले जनाएको छ।
पोष्टमार्टमका लागि अस्पतालमा ल्याइएका ४८ मृतकमध्ये ६ जनाको परिचय खुल्न नसकेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ।
मृतक ४२ जनाको फरेन्सिक रिपोर्ट र फिंगर प्रिन्टका आधारमा सनाखत भएको अस्पतालका फरेन्सिक विज्ञ डा तुलसी कँडेलले बताए।
“फरेन्सिक रिपोर्ट र फिंगर प्रिन्टबाट मृत्यु भएका ६ जनाको शव अत्याधिक जलेकाले पहिचान गर्न कठिनाइ भएको छ, त्यसैले उनीहरुको डिएनए परीक्षणबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,” उनले भने।
नेपाल प्रहरीको प्रयोगशालामा डीएनए परीक्षण गरिने भएको छ। मृतक र उनिहरुको आफन्तको डिएनए नमूना सङ्कलन गर्ने प्रक्रिया जारी छ, उनले भने, मृतकको पहिचान खुल्न कम्तिमा २२ दिन लाग्ने बताए।
गत माघ १ गते काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको विमान पोखराको सेती खोंचमा दुर्घटना हुँदा चालक दलका चार सदस्यसहित विमानमा सवार सबै ७२ जनाको मृत्यु भएको थियो। दुर्घटनामा मृत्यु भएका २२ जनाको शव परीक्षणका लागि पोखरा लगिएको छ। (रासस)