काठमाडौं, ५ माघ। नेपाल राष्ट्र बैंकले नियम उल्लंघन गर्ने ६ विकास बैंक र चार वित्त कम्पनीलाई कारबाही गरेको छ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अनिवार्य नगद सञ्चिति अनुपात (सीआरआर), विपन्न वर्ग कर्जा र कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कायम गर्न नसकेको भन्दै राष्ट्र बैंकले आज सूचना जारी गर्दै १० बैंक तथा वित्तीय संस्थालाई जरिवाना गरेको हो।
कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, नारायणी विकास बैंक र सप्तकोसी विकास बैंकलाई सीडी रेसियो कायम गर्न नसकेको भन्दै जरिवाना गरिएको हो।
यी चार विकास बैंकले चालु आर्थिक वर्षको पहिलो महिना र दोस्रो महिना गरी दुई पटक सीडी रेसियो कायम गर्न सकेनन्।
त्यस्तै, सीडी रेसियो कायम गर्न नसकेको भन्दै तीन फाइनान्स कम्पनीलाई पनि कारबाही गरिएको छ।
दुई फाइनान्स नेपाल फाइनान्स र जानकी फाइनान्सले दुई पटक सीडी रेसियो कायम गर्न असफल भएका छन्।
जरिवानामा परेको तेस्रो कम्पनी समृद्धि फाइनान्सले आर्थिक वर्षको दोस्रो महिनामा अनुपात कायम गर्न सकेन।
त्यसैगरी, चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सीआरआर नपुगेको भन्दै दुई विकास बैंक साल्पा विकास बैंक र कर्णाली विकास बैंकसहित एउटा वित्त कम्पनी प्रोग्रेसिभ फाइनान्सलाई जरिवाना गरिएको छ।
यसैबीच कर्णाली विकास बैंकले विपन्न वर्गको कर्जा प्रवाह गर्न नसकेपछि थप जरिवानामा परेको छ।