Friday, March 29, 2024
spot_img
Homeखेलकुदकुन राष्ट्रले हासिल गर्ला तेश्रो 'तारा'? अर्जेन्टिना कि फ्रान्स?

कुन राष्ट्रले हासिल गर्ला तेश्रो ‘तारा’? अर्जेन्टिना कि फ्रान्स?

काठमाडौं, ३ पुष। कतार विश्वकपको फाइनलमा अर्जेन्टिना र पूर्व च्याम्पियन फ्रान्स आमनेसामने हुँदा सबैको ध्यान लियोनल मेस्सीमा मात्र केन्द्रित नभई उनले अर्जेन्टिनालाई तेस्रो पटक उपाधि जिताउन सक्छन् कि भनेर पनि उत्सुकता रहनेछ।

३५ वर्षीय मेस्सीले आइतबार राति लुसेल स्टेडियममा विश्वकपमा कीर्तिमानी २६ औं खेल खेल्दै अर्जेन्टिनालाई तेश्रो पटक उपाधि जिताउने प्रयास गर्नेछन्। सन् २०१४ को विश्वकपमा अर्जेन्टिनाले मेस्सीको कप्तानीमा फाइनल खेलेको थियो। तर, उक्त खेलमा अर्जेन्टिना जर्मनीसँग अतिरिक्त समयमा १–० गोलले पराजित भएको थियो। २०१८ को विश्वकपमा अर्जेन्टिना अन्तिम १६ बाट बाहिरिएको थियो। अर्जेन्टिना फ्रान्ससँग ४-३ ले पराजित भएपछि घर फर्किएको थियो।

पहिलो खेलमा एसियाली प्रतिद्वन्द्वी साउदी अरेबियासँग स्तब्ध बनेको अर्जेन्टिनाले त्यसयता राम्रो प्रदर्शन गरिरहेको छ। विश्वकपका सबै खेलमा मेस्सीले प्रेरणादायी प्रदर्शन गर्दै आएका छन्। साविक विजेता फ्रान्सविरुद्ध उनले कस्तो प्रदर्शन गर्ने छन्, अर्जेन्टिनाको उपाधि पनि त्यसमै केन्द्रित रहने छ। अर्जेन्टिना चार वर्षअघिको हारको बदला लिन खोज्ने छ भने फ्रान्स लगातार दोस्रो पटक उपाधि जित्ने लक्ष्यमा छ।

विगतको प्रदर्शनलाई हेर्दा फ्रान्सविरुद्ध अर्जेन्टिनाले वर्चस्व कायम राखेको छ। हालसम्म भएका १२ खेलमा अर्जेन्टिनाले ६ खेल जित्न सफल भएको छ। फ्रान्सले तीन खेल मात्रै जित्न सकेको छ। विश्वकपमा तीन पटक आमनेसामने भएका फ्रान्सले दुई पटक हार बेहोरेको छ।

तर, चार वर्ष अघि प्रतिस्पर्धात्मक खेलमा अर्जेन्टिनालाई माथ खुवाएकै कारण पनि डिडियर डेसच्याम्प्स फ्रान्सले उपाधि जित्नेमा ढुक्क देखिएका छन्।

तेस्रो पटक उपाधि जित्ने लक्ष्यका साथ अर्जेन्टिना र फ्रान्स भिड्दै छन्। फ्रान्स लगातार दोस्रो पटक विश्वकपको फाइनलमा प्रवेश गरेको टोली हो। सन् २०१८ को विश्वकप जितेको फ्रान्स तेस्रो पटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ । फ्रान्सले पहिलो पटक सन् १९९८ मा विश्वकप जितेको थियो।

अर्जेन्टिना तेस्रो पटक विश्वकप जित्न चाहन्छ। सन् १९७८ मा पहिलो पटक उपाधि जितेको अर्जेन्टिनाले १९८६ मा दोस्रो पटक उपाधि जितेको थियो। त्यसपछि विगत ३६ वर्षदेखि अर्जेन्टिनाले उपाधि जित्न सकेको छैन। त्यसैले कप्तान मेस्सी अर्जेन्टिनालाई कतार विश्वकपको उपाधि दिलाएर आफ्नो खेल जीवन खुसीसाथ अन्त्य गर्न चाहन्छन्। पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड मेस्सीले क्लब फुटबलमा जताततै सफलता हासिल गरेका छन्। तर, उनले देशका लागि उल्लेखनीय उपलब्धि हासिल गर्न सकेका छैनन्।

फ्रान्सका उस्मान डेम्बेले उपाधि जित्नका लागि कुनै कसर बाँकी नराख्ने बताउँछन्। ‘हामी कतार विश्वकपको फाइनलमा पुगिसकेका छौं। फ्रान्सलाई उपाधि दिलाउन कुनै कसर छाड्ने छैनौं’, डेम्बेले भन्छन्, ‘हामी विश्वकप जित्न चाहन्छौं र जर्सीमा तेस्रो ‘स्टार’ थप्न आतुर पनि छौं। मेसीले विश्वकप ट्रफी उचाल्न पाए भने राम्रो हुन्थ्यो। उनको सुखद् बिदाइ पनि हुन्थ्यो। तर, हामी उपाधि जित्न सबै प्रयत्न लगाउने छौं। मेसीलाई सफल हुन दिने छैनौं।’

उनले सबै खेलाडीको इच्छा विश्वकप जित्नु रहेको बताउँदै मेसीको पनि त्यति इच्छा भएको बताए। ‘विश्वकप उपाधि जित्नु हरेक खेलाडीको सपना हुन्छ। मेसीको पनि आफ्नो कप्तानीमा विश्वकप जित्ने सपना हुन सक्छ। तर, सबैको सपना साकार हुन्छ भन्ने हुँदैन’, डेम्बेले भन्छन्, ‘हामी पनि फ्रान्सलाई उपाधि दिलाउन चाहन्छौं। मलाई विश्वास छ यस पटकको विश्वकप हामीले नै जित्ने छौं।’ उनले बार्सिलोनामा रहँदा मेसीका बारेमा धेरै कुरा थाहा पाएको बताउँदै उनलाई बलबाट टाढा राख्न हरदम प्रयास गर्ने बताए।

दूत आवाज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको