काठमाडौं, २९ मंसिर। फ्रान्स लगातार दोस्रो पटक फिफा विश्वकपको फाइनलमा पुगेको छ। कतारको अलबेयत स्टेडियममा बुधबार भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० ले पराजित गर्दै पूर्व च्याम्पियन फ्रान्स उपाधि नजिक पुगेको हो।
फ्रान्सलाई जिताउन थिओ हर्नान्डेज र रान्दल कोलो मुआनीले १-१ गोल गरे।
खेलको चौथो मिनेटमा फ्रान्सले अग्रता लिएको थियो। हर्नान्डेजले पेनाल्टी क्षेत्रमा रिबाउन्डबाट गोल गरेका थिए।
पहिलो हाफमा १–० को अग्रता बनाएको फ्रान्सले दोस्रो हाफमा वैकल्पिक खेलाडीमार्फत ७९ औं मिनेटमा अर्को गोल थप्यो।
मोरक्कोले केही राम्रा अवसरको सदुपयोग गर्न नसकेपछि फ्रान्सले सहज जित हात पारेको हो।
अब उपाधिका लागि फ्रान्सले फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। फाइनल खेल आइतबार राति ८:४५ लुसैल रङ्गशालामा हुनेछ। मंगलबार राति भएको खेलमा क्रोएसियालाई हराउँदै अर्जेन्टिना उपाधि नजिक पुगेको थियो।
यस्तै तेश्रो स्थानका लागि मोरक्को र क्रोएसिया खलिफा अन्तर्राष्ट्रिय रङ्गशालामा शनिबार राति ८:४५ मा भिड्नेछन्। समूह चरणको मोरक्को र क्रोएसियाबीचको खेल गोलरहित बराबरीमा टुंगिएको थियो।