काठमाडौं, २६ मंसिर। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले रेशम चौधरीलाई जेलमुक्त गर्ने अध्यादेश फिर्ता लिनुपर्ने बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा लेख्दै उनले अध्यादेश फिर्ता हुनुपर्ने बताएका हुन्।
“अध्यादेश कानुनी, राजनीतिक र नैतिक रूपमा गलत छ। यो असंवैधानिक, अलोकतान्त्रिक र संसदीय प्रणालीको मर्मविपरीत छ,” उनले भने। “वर्तमान सरकार अस्थायी हो, दूरगामी निर्णय लिन सक्दैन। यो सरकारसँग अध्यादेश ल्याउने कानूनी र संवैधानिक हैसियत छैन। यसको विषय र नियत नै गलत छ।”
उनले अदालतमा विचाराधीन मुद्दा सरकारले फिर्ता लिन नसक्ने र राजनीतिक मुद्दा भए नयाँ संसदले आवश्यक परे कानुन बनाएर प्रक्रिया बढाउन सक्ने बताए।
यस्तै, अदालत र संसदको क्षेत्राधिकारको विषयमा कार्यपालिकाले हस्तक्षेप गरेको भन्दै यो अध्यादेश तत्काल फिर्ता लिनुपर्ने बताए।
अध्यादेशबारे पार्टीमा पनि छलफल नभएको उनले बताए।
‘विगतमा पटक पटक यसरी अध्यादेश ल्याउनु सम्पूर्ण रूपमा गलत हो भनेर पार्टीले निर्णय गरिसकेको छ,’ उनले लेखेका छन्, ‘अहिले पार्टीभित्र यो अध्यादेशका बारेमा न त कुनै छलफल भएको छ, न कुनै निर्णय नै भएको छ।’
यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि विरोध गरेका छन्।
आइतबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले रेशम चौधरी लगायत विद्रोही नेतालाई छुटाउन मिल्ने गरी अध्यादेश ल्याएको थियो।