Monday, December 11, 2023
spot_img
Homeकाठमाडौँकाठमाडौंका सबै निर्वाचन क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी?

काठमाडौंका सबै निर्वाचन क्षेत्रको मतगणना सकियो, को कहाँ विजयी?

काठमाडौं, ७ मंसिर भर्खरै सम्पन्न संघीय निर्वाचनमा काठमाडौंको सबै निर्वाचन क्षेत्रमा मतगणना सकिएको छ।

काठमाडौंको दश क्षेत्रमध्य नेपाली कांग्रेसले पाँच क्षेत्र, राष्ट्रिय स्वतन्त्र पार्टीले चार क्षेत्र र नेकपा एमालेले एक क्षेत्रमा जित निकालेको छ।

काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंह, काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतम, काठमाडौँ-३ मा नेपाली कांग्रेसका सन्तोष चालिसे, काठमाडौँ-४ मा नेपाली कांग्रेसका गगन कुमार थापा, काठमाडौँ-५ मा नेपाली कांग्रेसका प्रदिप पौडेल विजयी भएका हुन्।

यस्तै काठमाडौँ -६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, काठमाडौँ-७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, काठमाडौं–८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठल, काठमाडौँ-९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ र काठमाडौँ-१० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी विजयी भएका हुन्।

काठमाडौं–१ मा प्रकाशमान सिंहले ७ हजार १ सय ४३ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय प्रजातन्त्र पार्टीका रबिन्द्र मिश्र मात्र १२५ मतले पराजित भएका थिए। मिश्रले ७ हजार १८ मत प्राप्त गरेका थिए।

काठमाडौँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी सोविता गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई ३ हजार ६ सय ७४ मतान्तरले पराजित गरेकी हुन्। गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरे भने फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल (उपाध्याय)ले ११ हजार १४ मत प्राप्त गरी तेस्रो र नेकपा (माओवादी केन्द्र)की पूर्वसभामुख ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।

त्यस्तै काठमाडौँ-३ मा नेपाली कांग्रेसका सन्तोष चालिसेले १५ हजार १ सय ५८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्ण बहादुर राईले ११ हजार १ सय ९६ मत प्राप्त गरे।

काठमाडौं–४ मा नेपाली कांग्रेसका गगन कुमार थापा २१ हजार २ सय ९३ मत ल्याएर नेकपा एमालेका राजन भट्टराईलाई पछि पार्दै लगातार तेस्रो पटक चुनाव जितेका हुन्। भट्टराईले १३ हजार ८ सय ३७ मत प्राप्त गरे भने ७ हजार ४ सय ५६ मतले पराजित भए।

त्यस्तै काठमाडौँ-५ मा नेपाली कांग्रेसका प्रदिप पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका इश्वर पोख्रेल थिए। पोख्रेल ले १० हजार १ सय ७५ मत प्राप्त गरे।

काठमाडौँ-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सर्बेन्द्र खनाललाई ५ हजार २ सय ९३ मतान्तरले पराजित गरेका हुन्। शिशिर खनालले १४ हजार २ सय ४ मत प्राप्त गरे भने सर्बेन्द्र खनालले ८ हजार ९ सय ११ मत प्राप्त गरेका हुन्।

त्यसैगरी काठमाडौं–७ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र नेकपा (माओवादी केन्द्र)की उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याइन्।

काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीकी सुमन सायमी थिए। सायमीले ५ हजार ८ सय ८९ मत प्राप्त गरे। नेकपा (एकीकृत समाजवादी) का वर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ४ हजार ८ सय ७७ मत ल्याएर तेस्रो भए।

काठमाडौँ-९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर पोख्रेललाई ९ सय ९५ मतान्तरले पराजित गरेका हुन्। श्रेष्ठले ११ हजार ९ सय ५६ मत प्राप्त भने पोख्रेलले १० हजार ९ सय ६१ मत प्राप्त गरेका हुन्।

त्यसैगरी काठमाडौँ-१० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार के.सी ले १४ हजार ४ सय ४८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका हिमेश के.सी ले ११ हजार ७ सय ८६ मत प्राप्त गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको