काठमाडौं, ७ मंसिर। भर्खरै सम्पन्न संघीय निर्वाचनमा काठमाडौंको तीन निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन्।
काठमाडौं–२, काठमाडौं–७ र काठमाडौं–८ मा क्रमशः सोविता गौतम, गणेश पराजुली र विराजभक्त श्रेष्ठ विजयी भए।
गौतमले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मणिराम फुयाँललाई ३ हजार ६ सय ७४ मतान्तरले पराजित गरेकी हुन्। गौतमले १५ हजार २ सय २९ मत प्राप्त गरे भने फुयाँलले ११ हजार ५ सय ५५ मत प्राप्त गरेका हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्तीदेवी पोखरेल (उपाध्याय)ले ११ हजार १४ मत प्राप्त गरी तेस्रो र नेकपा (माओवादी केन्द्र)की पूर्वसभामुख ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत प्राप्त गरेकी छन्।
त्यसैगरी काठमाडौं–७ मा पराजुली ८ हजार ७ सय ४३ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८ सय र नेकपा (माओवादी केन्द्र)की उम्मेदवार मानुषी यमी भट्टराईले ६ हजार ६३ मत ल्याइन्।
त्यस्तै काठमाडौं–८ मा विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी हाम्रो नेपाली पार्टीकी सुमन सायमी थिए। सायमीले ५ हजार ८ सय ८९ मत प्राप्त गरे। नेकपा (एकीकृत समाजवादी) का वर्तमान पर्यटनमन्त्री जीवनराम श्रेष्ठ ४ हजार ८ सय ७७ मत ल्याएर तेस्रो भए।