काठमाडौं, २० कार्तिक। अस्ट्रेलियामा जारी आईसीसी टी–२० विश्वकपको सेमिफाइनल खेल समिकरण पुरा भएको छ। आइतबार सुपर १२ का सबै खेल सकिएसँगै दुवै समूहका शीर्ष २ टोली सेमिफाइनलका लागि छनोट भएका छन्।
समूह १ बाट न्युजिल्याण्ड समूह विजेता बनेको छ भने इङ्ल्यान्ड उपविजेता हुँदै सेमिफाइनलमा पुगेको छ। त्यस्तै समूह २ बाट भारत समूह विजेता र पाकिस्तान समूहको उपविजेता हुँदै अन्तिम ४ मा प्रवेश गरेको छ।
समूह २ को विजेता भारतले अब सेमिफाइनलमा समूह १ को उपविजेता इंग्ल्याण्डसँग खेल्नेछ। त्यसैगरी समूह २ को उपविजेता पाकिस्तानले समूह १ को विजेता न्युजिल्यान्डसँग खेल्नेछ।
समूह १ मा न्युजिल्यान्ड, इंग्ल्याण्ड र अष्ट्रेलियाको समान ७–७ अंक भए पनि शीर्ष दुई टोली नेट रन रेटका आधारमा अगाडि बढेका छन्।
घरेलु टोली अष्ट्रेलिया र इंग्ल्याण्डबीचको खेल वर्षाका कारण रद्द हुँदा समूहको खेल तालिका प्रभावित भएको थियो। श्रीलंकाले ४ अंक जोड्दा आयरल्यान्डले ३ र अफगानिस्तानले २ अंक जोड्दै विश्वकपमा आफ्नो यात्रा समाप्त गरेको थियो।
त्यस्तै समूह २ मा भारतले ५ खेलमा ४ जितसहित ८ अंक जोडेको थियो भने पाकिस्तानले ३ जितसँगै ६ अंक जोडेको थियो।
आइतबार बिहान नेदरल्यान्ड्ससँग अप्रत्याशित रूपमा पराजित हुँदा दक्षिण अफ्रिका नाटकीय ढंगले सेमिफाइनलबाट बाहिरिएको थियो। अफ्रिकाले ५ खेलमा ५ अंक जोड्न सफल भयो।
नेदरल्यान्ड्सले रन रेटमा बंगलादेशलाई पछि पर्दै चौथो स्थानमा रहँदै विश्वकपमा आफ्नो यात्रा पूरा गर्यो। पछिल्लो खेलमा भारतसँग पराजित भएको जिम्बाब्वेले ३ अंकका साथ पुछारमा रहेको विश्वकप यात्रा समाप्त गरेको छ।
अब फाइनल प्रवेशका लागि न्युजिल्याण्ड र पाकिस्तान बुधबार सिड्नीमा भिड्नेछन्। त्यस्तै सेमिफाइनलको अन्तिम खेलमा बिहीबार एडिलेडमा भारत र इंग्ल्याण्ड भिड्दैछन्।
यी दुवै खेलको विजेताले आगामी आइतबार मेलबर्नमा फाइनल खेल्नेछ।