काठमाडौं, १७ कार्तिक। राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार मुस्ताङ जाने भएकी छन्।
उनले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको दर्शन गरी भगवान बुद्धको प्रतिमा अनावरण गर्नुका साथै भगवान विष्णुको प्रतिमा निर्माणको शिलान्यास गर्ने कार्यक्रम छ।
राष्ट्रपति भण्डारी शुक्रबार बिहान ८ बजे मुस्ताङ आइपुग्ने मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।
उनले भने, ‘राष्ट्रपति भण्डारी कार्यक्रममा सहभागी भई शुक्रबार काठमाडौं फर्कनेछन्।
त्यसैगरी राष्ट्रपति भण्डारीले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘ल्हो मुस्ताङ हिमालयन रिसोर्ट’ को पनि उद्घाटन गर्ने कार्यक्रम छ।
राष्ट्रपतिको मुक्तिनाथ भ्रमणलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडा पारिएको शर्माले बताए।