काठमाडौं, २३ मंसिर। फिफा विश्वकप २०२२ को क्वाटरफाइनलको पहिलो खेलमा आज पाँच पटकको विजेता ब्राजिल र क्रोएसियाबीचको खेल हुँदैछ।
खेल नेपाली समय अनुसार राति ८ः४५ बजे सुरु हुनेछ।
अन्तिम १६ को खेलमा ब्राजिलले एसियाली टोली दक्षिण कोरियालाई ४-१ ले पराजित गरेको थियो भने क्रोएसियाले पेनाल्टी सुट आउटमा अर्को एसियाली टोली जापानलाई हराएको थियो।
दोस्रो खेलमा नेदरल्याण्ड्स र अर्जेन्टिना भिड्नेछन्। खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ।
अन्तिम १६ को खेलमा नेदरल्याण्ड्सले संयुक्त राज्य अमेरिकालाई ३-१ ले पराजित गरेको थियो। यस्तै अर्जेन्टिनाले अष्ट्रेलियालाई २-१ ले हराएको थियो।