काठमाडौं, ८ भदौ। काठमाडौं महानगरपालिकाले आगामी चार दिनभित्र काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने योजना बनाएको छ।
काठमाडौं महानगरपालिका कार्यालयका वातावरण विभाग प्रमुख सरिता राईका अनुसार यही साताभित्र सडक र चोकमा थुप्रिएका फोहोर व्यवस्थापन गर्ने योजनासहित काम अघि बढेको छ। मुख्य सडकको फोहोर व्यवस्थापन सकिएको र भित्री गल्लीमा रहेको फोहोर उठाएर शनिबारसम्म व्यवस्थापन गर्ने योजना रहेको राईले बताइन।
फोहोर विसर्जनका लागि अहिले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा दैनिक ३ सय सवारीसाधन प्रयोग भैरहेका छन्। सङ्कलन हुन बाँकी रहेको फोहोर व्यवस्थापन गर्नुपर्ने भएकाले फोहोर कन्टेनरको संख्या सामान्य समयभन्दा बढी छ।
केही दिनअघि मेयर बलेन्द्र शाहले फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिकासँग साझेदारी गर्ने निजी कम्पनीलाई एक साताभित्र व्यवस्थापन गर्न निर्देशन दिएका थिए।
कहिले अविरल वर्षाका कारण सडक अवरुद्ध हुँदा त कहिले काठमाडौं महानगरपालिकालाई असहयोग गर्ने सिसडोल र बञ्चरेडाँडावासीको अवरोधका कारण काठमाडौं उपत्यकामा उत्पादन हुने फोहोर व्यवस्थापन दुई महिनादेखि ठप्प भएको थियो।
गत साता काठमाडौं, धादिङ र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी र सिसडोल र बञ्चरेडाँडावासीबीच चारबुँदे सहमति भएको थियो, जसले गत बिहीबारदेखि सञ्चालनको काम सुचारु गर्ने बाटो खुलेको हो।
काठमाडौं उपत्यकाबाट १२०० मेट्रिक टन फोहोर निस्कन्छ र यो मात्रामा सबैभन्दा बढी योगदान गर्ने (५०० मेट्रिक टन) काठमाडौं महानगरपालिका हो।
बञ्चरेडाँडा काठमाडौं महानगरपालिका र अन्य १७ स्थानीय तहको वर्षौंदेखि फोहोर फाल्ने अन्तिम फोहोर विसर्जन स्थल रहदै आएको छ।