काठमाडौं, ३ भदौ। भगवान् श्रीकृष्णको जन्मजयन्ती श्रीकृष्णजन्माष्टमी आज देशभर विभिन्न कार्यक्रम गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ।
शास्त्र अनुसार भगवान श्रीकृष्णको जन्म द्वापर युगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको थियो।
भगवान् कृष्णलाई दुष्ट, अन्याय र शैतानी शक्तिहरूबाट मानव जातिको रक्षा गर्ने भगवान विष्णुको अवतार मानिन्छ। उहाँलाई ज्ञानयोग, कर्मयोग र भक्तियोगका तीन सिद्धान्तका प्रवर्तक पनि मानिन्छ।
सुखी र समृद्ध जीवनको लागि भगवान कृष्णको असल कर्मको कदर गर्न श्रीकृष्ण जन्माष्टमी भव्य रूपमा मनाइन्छ।
पौराणिक कथा अनुसार वासुदेव र देवकीबाट जन्म लिनुभएको भगवान् कृष्णले मानव जातिलाई ज्ञान, सत्य र अमरताको मार्गमा डोर्याउनु भएको छ।
ललितपुरको मंगलबजारस्थित प्रसिद्ध श्रीकृष्ण मन्दिरलगायत भगवान् कृष्णका मन्दिरमा भक्तजनको भीड लागेको छ।
ढुङ्गाले बनेको प्रसिद्ध र कलात्मक श्रीकृष्ण मन्दिर तत्कालीन पाटनका राजा सिद्धिनरसिंह मल्लले निर्माण गरेका थिए।
विभिन्न धार्मिक संघसंस्थाले भगवान् कृष्णका मूर्तिहरू सजाएर रङ्गीचङ्गी र्याली निकालेर भगवान् कृष्णको जन्मजयन्ती मनाउँछन्।
भक्तजनहरु, विशेष गरी महिलाहरु, प्रार्थना र भक्ति गीत गाउँदै, नाच्दै र तेलको दियो बालेर रात बिताउने गर्दछन।
साथै कतिपय घरहरुमा आज आफ्ना साना बालकलाई श्रीकृष्णको जस्तै लुगा लगाएर श्रीकृष्णजन्माष्टमी मनाउने गर्दछन।

शान्तिनगरका एक बासिन्दा शेखर राज थापा भन्नुहुन्छ; आज हरेक घरमा श्रीकृष्ण देख्न पाईएको छ। प्रभुको अनेक अवतार मध्य कुनै एकलाइ महाभारतको श्रीकृष्ण जस्तो बनाइदेऊ, जस्ले कुशल सारथी बनेर यो देशलाई हाक्न सकुन।