काठमाडौं, २५ साउन। दोलखामा यस वर्षको बाढी र पहिरोले तीन सयभन्दा बढी घरमा क्षति पुगेको छ।
जंगलमा निर्माण गरिएको पोखरीको बाढीले भीमेश्वर नगरपालिकाका वडा नं २ र ३ का १० भन्दा बढी घरमा क्षति पुगेको छ। खोरथली सामुदायिक वनको वन्यजन्तुका लागि दुई वर्षअघि पोखरी निर्माण गरिएको थियो। अत्यधिक वर्षाका कारण पोखरी फुटेको छ ।बाढीले एउटा रिसोर्टसहित १० भन्दा बढी घरमा क्षति पुगेको छ।
दोलखा सदरमुकाम चरिकोटको सबैभन्दा ठूलो सामुदायिक वन हो खोरफ्थली। अहिले पनि पोखरीको जोखिममा रहेको स्थानीयको भनाइ छ।
बागमती प्रदेश सरकार, भीमेश्वर नगरपालिका र डिभिजन वन कार्यालयले खुला चिडियाखाना बनाउन पोखरी निर्माण गरेको थियो।
डिभिजन वन कार्यालय दोलखाका प्रमुख तीरबहादुर कार्कीले पोखरीबारे आफूलाई जानकारी नभएको बताए।
त्यसैगरी गत आइतबार राति विगु गाउँपालिकाको खोलिखाममा पहिरोले ६ घर र एक पसल पुरेको थियो । जिल्लामा विगत सात दिनदेखि वर्षा भइरहेको छ।
पहिरो र बाढीले जिल्लाका तीन सयभन्दा बढी परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख गंगाप्रसाद पौडेलले जानकारी दिए।
पहिरोले गौरीशंकर गाउँपालिकाका ५० भन्दा बढी घर जोखिममा परेको उपप्रमुख श्यामसुन्दर तामाङले बताए।