काठमाडौं, १२ साउन। जनार्दन शर्मामाथि छानबिन गरेको संसदीय विशेष समितिको बुधबारको बैठकमा प्रतिवेदनको मस्यौदा पढिरहेका बेलामा बिचैमा रोकिएको थियो। सचिव सुरेन्द्र अर्याल निष्कर्ष खण्डमा पुग्दा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले उनलाई रोकेका थिए। बुधबार बिहान ११ बजेदेखि बसेको बैठकको छलफल अपरान्ह ४ बजे बल्ल निष्कर्ष खण्डमा पुग्दै थियो।
स्रोतका अनुसार प्रस्तावित निष्कर्ष खण्डमा बजेटमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नताबारे प्रमाण न भेटिएको अवस्था थियो।
निष्कर्ष खण्डमा पुग्दा प्रतिपक्षी एमालेका सांसदहरुले असहमति जनाए। ‘निष्कर्षमा पुग्न सकिएन भने निष्कर्षमा पुगिने थप प्रमाण खोजौं। कल डिटेल हेरौं’ भनेर एमाले सांसद प्रदीप ज्ञवालीले भने। यतिकैमा अर्का सांसदले भने ‘प्रमाण भेटिएन कि प्रमाण दिइएन ? प्रमाण त लुकाइएको होइन र ?’
बैठक विवादमा उभिएपछि बैठकको अध्यक्षता गरिरहेका लोकतान्त्रिक समाजवादी पार्टीका सांसद लक्ष्मणलाल कर्णले प्रस्ताव राखे, ‘सबैले सबैसँग आपसमा छलफल गरौं र भोलि बसौं।’ सो प्रस्थापपछि हिजोको बैठक सकिएको र अर्को बैठक बिहीबार साढे १२ बजे तय भएको छ ।