काठमाडौँ, २९ असार। राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपतिको कार्यालय शीतलनिवास काठमाडौंमा आज शिष्टाचार भेट भएको राष्ट्रपति कार्यालयले जनाएको छ।
परराष्ट्र विभाग प्रमुख लिउ आइतबार बिहानदेखि नेपालको चारदिने औपचारिक भ्रमणमा छन्। उनले आठ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका छन्। उनले सोही दिन प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका थिए।
भ्रमणमा रहेका चिनियाँ नेताले यहाँ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन्।



