काठमाडौं, १४ जेठ। संघीय संसदको संयुक्त बैठकमा आज संघीय संसदको संयुक्त समितिको व्यवसाय सञ्चालन नियमावली–२०८० को मस्यौदा प्रतिवेदन (संशोधनसहित)माथि दफावार छलफल सुरु भएको छ।
त्यसअघि नियमावली मस्यौदा समितिका अध्यक्ष ध्रुवबहादुर प्रधानले बैठकमा प्रतिवेदनमाथि दफावार छलफल सुरु गर्न प्रस्ताव राखेका थिए र उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको थियो।
प्रतिनिधिसभाको जेठ १ गते बसेको बैठकले मस्यौदा समिति गठन गर्ने प्रस्ताव पारित गरेको थियो। देवेन्द्र पौडेलको प्रारम्भिक प्रस्तावमा ईश्वरीदेवी न्यौपाने र योगेशकुमार भट्टराईले समर्थन गरेका थिए। संघीय संसदको संयुक्त समितिको व्यवसाय सञ्चालन नियमावलीको मस्यौदा तयार गर्न समिति गठन गर्ने उद्देश्यले उक्त प्रस्ताव ल्याइएको हो।
नियमावली तर्जुमा गर्न गठित समितिमा प्रतिनिधिसभाबाट १६ सदस्य थिए। त्यसैगरी राष्ट्रियसभाले जेठ ५ गते समितिलाई पूर्णता दिँदै आफ्नो तर्फबाट थप तीन सदस्यलाई समावेश गरेको थियो।
संघीय संसद्को संयुक्त समिति (व्यवसाय सञ्चालन) नियमावली, २०७५ को मस्यौदा समयमै परिमार्जन गर्न मस्यौदा समितिलाई सात दिनको समय दिइएको थियो। (रासस)



