काठमाडौं, ४ भदौ। सोमालियाको राजधानी मोगादिसुमा अल कायदासँग सम्बद्ध लडाकूहरूले एउटा होटलमा आक्रमण गर्दा कम्तीमा १२ जनाको मृत्यु भएको छ।
एक गुप्तचरका अनुसार अधिकारीहरूले लगभग २० घण्टा पछि कब्जामा रहेका बन्धकहरूलाई रिहा गर्न सफल भएका हुन्।
आक्रमणकारीले शुक्रबार साँझ हयात होटलमा दुईवटा कार बम विष्फोट गर्नुअघि गोली प्रहार गरेका थिए। सोमालियाको अल शबाब विद्रोहीले जिम्मेवारी लिएको छ।
“अहिलेसम्म हामीले १२ जनाको ज्यान गएको पुष्टि गरेका छौँ, जसमा अधिकांश सर्वसाधारण नागरिक थिए,” एक जना गुप्तचर अधिकारी मोहम्मदले भने।
बन्दुकधारीहरूले भवनको दोस्रो तल्लामा अज्ञात संख्यामा बन्धक बनाएका थिए।
प्रत्यक्षदर्शीहरू अनुसार सरकारी सेनाले विद्रोहीहरूबाट होटलको नियन्त्रण फिर्ता लिने प्रयास गर्दा राती विष्फोटको आवाज सुनिएको थियो।
हयात होटल सांसद र अन्य सरकारी अधिकारीहरूको लागि एक लोकप्रिय स्थान हो। तिनीहरूमध्ये कोही पनि घेराबन्दीमा परेका थिए वा थिएनन् भन्ने बारे तत्काल कुनै जानकारी आएको छैन।



