काठमाडौं, २९ साउन। नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टीले आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा साझा चुनाव चिन्ह र घोषणापत्रका साथ लड्ने सहमति गरेका छन्।
‘दुवै पार्टीबीच साझा चुनाव चिन्ह र साझा घोषणापत्रमा चुनाव लड्ने मौखिक सहमति भएको छ,’ नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले बताए। ‘आज साँझ वा सोमबार बिहानसम्म दुई पक्षले छुट्टाछुट्टै छलफल गरेपछि लिखित सहमति हुनेछ।
नेताहरुका अनुसार माओवादी केन्द्रको चुनावी चिन्ह हथौडा र हँसियालाई घेरा भित्र राखेर निर्वाचनमा जान दुवै दल सहमत भएका छन्।
दुई दलका नेताहरु विगत १० दिनदेखि आगामी निर्वाचनका लागि चुनावी तालमेल गर्ने विषयमा छलफल गरिरहेका थिए।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल समाजवादीका अध्यक्ष बाबुराम भट्टराईबीच केही महिनादेखि गठबन्धन वा ‘समाजवादी केन्द्र’ बनाउने विषयमा वार्ता भइरहेको थियो।
सन् २०१५ मा संविधान जारी भएपछि माओवादी पार्टी त्यागेका भट्टराईले जनता समाजवादी पार्टीबाट निष्कासित भएपछि हालै नेपाल समाजवादी पार्टी बनाएका थिए।
आइतबार बिहान दाहाल र भट्टराईबीच सँगै चुनावमा जानेबारे छलफल भएको थियो।
दुवै दलबीच सिट बाँडफाँड र साझा चुनावी घोषणापत्रमा समावेश गर्ने विषयमा पनि छलफल भइरहेको छ।
निर्वाचन आयोगले आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि आगामी साउन ३१ भित्र दर्ता गराउन राजनीतिक दललाई निर्देशन दिएको छ।
दुवै दलले सोमबार निर्वाचनका लागि आ–आफ्नो नाम दर्ता गराउने तयारी गरेका छन्।



