काठमाडौं, २५ साउन। बालाजु औद्योगिक क्षेत्र नजिकैको जुत्ता कारखानामा बुधबार बिहान लागेको आगो नियन्त्रणमा आएको छ।
बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ। बुधबार दिउँसो काठमाडौं महानगरपालिका–१६ बालाजु बाइपास नजिकैको घरमा घटना भएको हो।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार वान वल्र्ड जुत्ता कारखानामा बिहान ११ बजेर ४५ मिनेटमा आगलागी भएको थियो।
प्रहरीको टोली आगलागी भएको स्थानमा पुगेको छ। आगो नियन्त्रणका लागि दमकलको प्रयोग गरिएको प्रहरीले जनाएको छ।
प्रहरी, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको रिजालले बताए। आगलागीबाट करिब ४ करोड ५० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आगलागी नियन्त्रणका लागि ललितपुर र भक्तपुरबाट दमकल परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एस.पी दिनेशराज मैनालीले जानकारी दिए।
कारखानाका कर्मचारीका अनुसार एउटा मेसिनमा विद्युत सर्ट भएर आगलागी भएको हो। कारखानामा राखिएको कच्चा पदार्थ र केमिकलले आगलागी भएको उनीहरुले बताए।
कारखाना क्षेत्र वरपर घरहरू भए पनि आगलागीबाट कुनै मानवीय वा निजी सम्पत्तिमा क्षति नभएको प्रहरीले जनाएको छ।



