काठमाडौं, २३ साउन। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौं महानगरपालिकासँगको समन्वयमा ध्वनी प्रदूषण नियन्त्रणका लागि आइतबारदेखि लागू हुने गरी ‘नो हर्न’ नीति लागू गरेको छ।
आइतबार सिंहदरबारमा आयोजित एक कार्यक्रममा काठमाडौंका मेयर बालेन्द्र शाह र काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले संयुक्तरुपमा नीति पुन: लागू गरेको घोषणा गरेका हुन्।
ट्राफिक प्रहरी र काठमाडौं महानगरपालिकाले सन् २०१७ मा ‘नो हर्न’ नीति लागू गरेको थियो र यो नीति लागु गरेको तेस्रो पटक हो।
ट्राफिक प्रहरीले सन् २०१७ देखि २०१९ सम्ममा सार्वजनिक स्थानमा अनावश्यक हर्न बजाउने १२ हजार २ सय ७१ चालकलाई कारबाही गरेको थियो।
उपत्यकामा ‘नो हर्न’ नीति एम्बुलेन्स, दमकल जस्ता अत्यावश्यक सवारीसाधनबाहेक सबै सवारीसाधनमा लागू हुनेछ।
‘आकस्मिक अवस्थामा बाहेक चालकले हर्न बजाउनु हुँदैन,’ चौधरीले भनिन, ‘कसैले विना कारण हर्न बजाएको पाइएमा ट्राफिक प्रहरीले कारबाही गर्ने र रु ५०० जरिवाना तिर्नुपर्ने बताइन।
मोटर वाहन तथा यातायात व्यवस्था ऐन–१९९३ अनुसार निषेधित क्षेत्रमा हर्न बजाएमा चालकले रु १५०० सम्म जरिवाना तिर्नुपर्नेछ।
विगत पाँच वर्षमा काठमाडौंका सडकमा सवारी चाप ह्वात्तै बढेको छ र ट्राफिक जाम र ध्वनी प्रदूषण पनि बढेको छ।
२०१७ मा पहिलो पटक ‘नो हर्न’ नीति घोषणा हुदा काठमाडौं उपत्यकामा दैनिक ११ लाख ८० हजार सवारी साधन उपत्यकाका सडकमा गुड्ने गरेका थिए। पाँच वर्षपछि यो संख्या १७ लाख ५० हजार पुगेको ट्राफिक प्रहरीले जनाएको छ।



