काठमाडौं, १७ साउन। खोटाङमा आइतवार गएको ६ म्याग्निच्युडको भूकम्पले दुई विद्यालय भवन, एउटा प्रहरी चौकी ४७५ घरमा क्षति पुगाएको छ।
जिल्ला विपद् व्यवस्थापन कार्यालयका अनुसार एक घर पूर्णरुपमा ध्वस्त भएको छ भने अन्य घरमा चर्किएको छन्। त्यसैगरी भूकम्पले केपिलासगढी गाउँपालिका–५ को थुरपुरडाँडा माविको चार कोठाको भवन, दिक्तेल रुपाकोट मझुवागढी गाउँपालिका–३ स्थित सुर्केडाँडा माविको चार कोठाको भवन, केपिलासगढी–२ को प्रहरी चौकीको भवन भत्किएको जिल्ला प्रशासन कार्यालय।
भूकम्पले हलेसी तुवाचुङ नगरपालिका–५ का तेजबहादुर नेपालीको घर पूर्णरुपमा क्षतिग्रस्त भएको छ। भूकम्पको केन्द्रविन्दु रहेको साकेला गाउँपालिकामा हालसम्म ४ सय ६४ घरमा क्षति पुगेको साकेला गाउँपालिकाका अध्यक्ष रविप्रकाश राईले जानकारी दिनुभयो।
भूकम्पले बाञ्जेछ्यानडाँडामा १३४ घर, रतनछामा ८८ घर, खिडिमामा ५७ घर, मात्तिममा १०५ र माट्टीबिर्तामा ८० घरमा क्षति पुगेको उनले बताए।
भूकम्पले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका विभिन्न वडाका ६ घर, हलेसी तुवाचुङ नगरपालिकाको महादेवस्थान र सल्लेमा एक–एक घर, खोटेहाङ गाउँपालिकाका दुई घर र रावाबेन्सी गाउँपालिकामा एक घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी र जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक सूर्यप्रसाद सेढाईले जानकारी दिए।
उनले भने, ‘भूकम्पका साथै बाढी र पहिरोबाट भएको क्षतिको विवरण स्थानीय तहले दिने क्रम जारी छ। जिल्लाका १० वटै स्थानीय तहलाई भूकम्पबाट भएको क्षतिको विवरण तीन दिनभित्र उपलब्ध गराउन आग्रह गरिएको छ ,’ उनले भने। जिल्लामा भारी वर्षा भइरहेकाले यकिन जानकारी आउन अझै समय लाग्ने देखिन्छ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले २०७२ शालको गोरखा भूकम्पपछिको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भएको जनाएको छ। खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारसँग जोडिएको साकेला गाउँपालिकामा भूकम्प गएको हो।
हालसम्म जिल्लामा गएको भूकम्पबाट कुनै मानवीय क्षति नभए पनि परकम्प आउने क्रम जारी रहेको र सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरिएको प्र.जि.अ सेढाईले बताए।
उनका अनुसार नेपाली सेना, प्रहरी र विपद् व्यवस्थापन तथा उद्धार टोलीलाई विपद्को सूचना प्राप्त हुने क्षणमा परिचालन गर्न तयारी अवस्थामा राखिएको छ।
हलेसी तुवाचुङ नगरपालिकाले क्षतिको विवरण लिन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पत्राचार गरेको छ। मेयर विमला राईले भूकम्पलगत्तै एकीकृत विपद् जोखिम मूल्याङ्कन गर्न गृह मन्त्रालय, एनडीआरआरएमएलाई पत्र लेखेको बताइन्।
जिल्लाका बाँकी स्थानीय तहले पनि आ–आफ्नो क्षेत्रमा भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न थालेका छन्। विपद् पर्दा उद्धार, राहत र व्यवस्थापनका लागि जिल्लाका १० वटै स्थानीय तहमा विपद् व्यवस्थापन समिति गठन गरिएको छ।



