काठमाडौं, १ मंसिर। सिन्धुलीको खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पताल खुर्कोटले जिल्लामै पहिलोपटक आधुनिक दन्त उपचार सेवा सुरु गरेको छ।
अस्पतालमा दाँत उपाचरको लागि अत्याधुनिक मेसिनसहित पूर्वी पहाडी जिल्लामै पहिलोपटक आधुनिक दन्त उपचार सेवा सुरु गरेको हो। समुदायद्वारा स्थापित अस्पतालले सिन्धुली, रामेछाप, ओखलढुङ्गा, दोलखा, सोलुखुम्बु लगायतका तराइका केही जिल्लाका सेवाग्राहीलाई समेत लक्षित गरी विशेष एक्स-रे मेसिन ओपीजी (मुखभित्रका सबै दाँतको अवस्था देखाउन सक्ने) सहित २०८० कार्तिक २३ गते बिहीबार देखि दन्त सेवा सुरु गरेको हो।

रोटरी क्लब अफ रुद्रमती काठमाडौं आरआइडी–३२९२ ले ६० लाख बराबरको उपकरणहरू उपलब्ध गराएपछि खुर्कोटमै दाँतको सबै उपचार हुने गरी दन्त सेवा सुरु भएको हो । बिहीबार अस्पताल परिसरमा एक कार्यक्रमको आयोजना गरी रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर राजेन्द्र प्रसाद धोजुले दन्त स्वास्थ्य सेवाको उद्घाटन गरेका हुन्।
उद्घाटन कार्यक्रममा बोल्दै डिस्ट्रिक्ट गभर्नर धोजुले नेपालका ग्रामीण क्षेत्रलाई लक्षित गरी खुर्कोटमा स्थापना गरिएको अत्याधुनिक उपकरण सहितको दन्त सेवाले धेरैलाई सहयोग पुर्याउनेमा आफू विश्वस्त रहेको बताए। उनले रोटरी क्लबले उपलब्ध गराएको अत्याधुनिक मेसिन सहितको सेवालाई सही सदुपयोग भएमा आफूहरूले थप सहयोग गर्ने प्रतिबद्धता पनि जनाए।

उक्त दन्त सेवा स्थापना कार्यक्रममा बोल्दै गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्कर राज बरालले दन्त सेवा स्थापनामा सहयोग पुर्याउने रोटरी क्लबलाई धन्यवाद दिँदै आगामी दिनमा दन्त सेवालाई सञ्चालनमा गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए । रोटरी क्लब अफ रुद्रमती काठमाडौं २०२०–२१ का अध्यक्ष सुदिप कोइरालाको पहलमा सिन्धुलीको खुर्कोटमा अत्याधुनिक उपकरण सहितको दन्त सेवा सुरु गर्न सफल भएको सुनकोशी सामुदायिक अस्पतालका अध्यक्ष केशव देवकोटाले बताए।

उनले दाँत उपचारको लागि काठमाडौंका महँगा अस्पतालमा जानु पर्ने बाध्यतालाई हटाउनको लागि र गाउँमै गुणस्तरीय दन्त सेवा दिनको लागि रोटरी क्लबको सहयोगमा दन्त सेवा सुरु गरिएको बताए। काठमाडौं पुरै दाँतको एक्स-रे गर्दा झण्डै ४ हजार पैसा तिर्नु पर्ने एक्स-रे खुर्कोटमै एक हजारमा हुने पनि अध्यक्ष देवकोटाले बताए। विशेष एक्स-रे ओपीजी मेसिन मार्फत एक पटकमा सबै दाँतको एक्स-रे गर्न सकिने भएको हुँदा दाँतमा भएका सबै समस्या पत्ता लाग्ने र उपचार गर्न सहज हुने सुनकोशी सामुदायिक अस्पतालको दन्त सेवामा कार्यरत डेन्टल सर्जन कृशला कुमारी चौधरीले बताइन्। उनकाअनुसार अब अत्याधुनिक दन्त सेवाका लागि खुर्कोट हबको रुपमा रहनेछ।