काठमाडौं, ४ साउन। करिब एक सय किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन्।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार सुन तस्करीमा संलग्नको खोजी भइरहेको छ। पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन।
विभागको विशेष टोलीले बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडि भन्सार पासबाट ट्याक्सीमा ओसारपसार गर्ने क्रममा ठूलो परिमाणमा सुन बरामद गरेको हो।
विभागले तत्काल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुनसहित दुई जनालाई पक्राउ गरेको थियो।
ढुंगानाका अनुसार टोलीले आज बिहान घोटालामा संलग्न थप चार जनालाई पक्राउ गरेको हो। सुन हङकङबाट ल्याएको बताइएको छ।
नेपालमा यति ठूलो परिमाणमा पहेंलो धातु बरामद भएको यो अहिलेसम्मकै पहिलो घटना हो। “विस्तृत विवरण आउन बाँकी छ, फरारको खोजी भइरहेको छ,” उनले भने। (रासस)