काठमाडौं, ४ असार। नेपाल राष्ट्र बैंकले डिजिटल मुद्रा जारी गर्ने तयारी गरेको बताइएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ देशमा आफ्नो डिजिटल मुद्रा रहेको र बैंकले पनि आवश्यकताहरु अध्ययन गरी आफ्नै डिजिटल मुद्रा जारी गर्ने तयारी गरिरहेको बताए।
माछापुच्छ्रे बैंक र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन अफ नेपाल (प्याब्सन) बीच फाइनान्स र डिजिटल साक्षरतासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान गर्न आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
डिजिटल लेनदेनको बारेमा पछिल्लो तथ्याङ्कले यसको ठूलो मात्रा देखाउँछ। नेपालमा औसतमा मासिक ४० अर्ब रुपैयाँको डिजिटल कारोबार हुने गरेको छ। वैशाख महिनामा ८६ लाख मानिसले क्यूआर कोडमार्फत २६ अर्बभन्दा बढीको कारोबार गरेका छन्। डिजिटल कारोबारको प्रयोग बढ्दै गएकाले डिजिटल मुद्रा जारी गर्नुपर्ने आवश्यकता औल्याएको छ।
नेपाल राष्ट्र बैंकले यो आर्थिक वर्षलाई डिजिटल भुक्तानी प्रवद्र्धन गर्ने वर्षको रुपमा राखेको छ। (रासस)