काठमाडौं, १५ माघ। बलुचिस्तानको लसबेलामा आइतबार बिहान एउटा यात्रुवाहक बस खाल्डोमा खस्दा कम्तीमा ४१ जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन्।
करिब ४८ यात्रु सवार उक्त गाडी क्वेटाबाट कराँचीतर्फ गइरहेको थियो; लसबेलाका सहायक आयुक्त हम्जा अन्जुमले घटनाको पुष्टि गर्दै डन डट कमलाई भने।
“तीव्र गतिका कारण लस्बेलानजिकै यू–टर्न लिँदा बस पुलको पिलरमा ठोक्किएको हो। त्यसपछि गाडी खाडलमा खसेर आगो लाग्यो,’ उनले भने।

एक बालक र एक महिलासहित तीन जनाको जीवितै उद्धार गरिएको अन्जुमले बताए। तर, घाइतेमध्ये एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो।
अधिकारीले मृतकको संख्या अझै बढेर ४८ पुग्न सक्ने आशंका व्यक्त गरेका छन्।
दुर्घटनाग्रस्त बसबाट भेटिएका शव सनाखत हुन नसकेकाले मृतकको पहिचानका लागि डिएनए परीक्षण गरिने उनले बताए।