काठमाडौं, १३ माघ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सार्वजनिक सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतका सरकारी कार्यालयका प्रमुखलाई आग्रह गरेका छन्।
बिहीबार जिल्ला सदरमुकाम कुश्माका पदाधिकारीलाई निर्देशन दिँदै मन्त्री गिरीले सरकारी कार्यालय र निकायमा लामो लाइन लाग्न नदिन एकल विन्दु सेवा सुनिश्चित गर्न आग्रह गरे।
उनले दबाबमा नभई ऐन, नियम र कानुनको दायराभित्र रहेर सेवा प्रवाह सुनिश्चित गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए।
त्यसैगरी मन्त्री गिरीले विकास आयोजना समयमै सम्पन्न गर्न पदाधिकारी र आयोजना प्रमुखलाई आग्रह गरे।
सो अवसरमा प्रदेशसभा सदस्य भक्त कुँवरले कतिपय आयोजना कानुनी जटिलताका कारण ढिला भएको भन्दै कानून परिमार्जन गरी विकास निर्माणको कामलाई तीव्रता दिनुपर्ने बताए। (रासस)