काठमाडौं, १३ माघ। बाजुरा जिल्लामा मंगलबार गएको ५.९ म्याग्नीच्युडको भूकम्पले ४२ परिवार पूर्णरुपमा विस्थापित भएका छन्। विस्थापित हुनेमा हिमाली गाउँपालिकाका १२, गौमुल गाउँपालिकाका १५ र बडिमालिका नगरपालिकाका १५ परिवार रहेका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए।
त्यसैगरी बडिमालिकाका १२, हिमालीका चार र गौमुलका १४ परिवार आफन्तको घरमा आश्रय लिएका छन्, अन्य पाँच प्रभावित परिवार पालमा र एक परिवारले मन्दिरमा शरण लिएका छन्।
भूकम्पबाट झण्डै चार सय घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भूकम्पबाट सबैभन्दा बढी प्रभावित बडिमालिका नगरपालिका रहेको थापाले बताए।
भूकम्पबाट बडिमालिकाका २१, बुढीनन्दाका तीन, बूढीगंगामा एक, हिमालीका १९, गौमुलका ११, खप्तड छेडेदहका चार र स्वामीकार्तिक खापर गाउँपालिकाका एक घर पूर्णरुपमा ध्वस्त भएका छन्।
बडिमालिकामा ३१, बुढीनन्दामा नौ, हिमालीमा नौ, खप्तड छेडेदहमा पाँच र गौमुलका पाँच घरमा आंशिक क्षति पुगेको छ।
बडिमालिकामा १ सय ८७, बुढीनन्दमा १, हिमालीमा ४० र स्वामीकार्तिकमा १ घरमा सामान्य क्षति पुगेको छ।
भूकम्पमा परी एक जनाको मृत्यु भएको छ भने धेरै घाइते भएका छन्। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ जुरिलेकी जमुना रोकाया रहेकि छिन्। घाइते हुनेमा गौमुल–१ का राजदल बोहरा, बडिमालिका नगरपालिका–२ का चन्द्र महत, हिमाली गाउँपालिका–१ की ६ वर्षीया सुश्रीता थापा र १६ वर्षीया सरिता नेपाली रहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये बोहरा, महत र नेपालीलाई अस्पतालबाट डिस्चार्ज गरिएको छ भने अन्यको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको थापाले जानकारी दिए। क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ। (रासस)