Tuesday, September 26, 2023
spot_img
Homeसमाचारनेपाल वायुसेवा निगमले हवाई टिकट बिक्रीमा सुधार गर्ने

नेपाल वायुसेवा निगमले हवाई टिकट बिक्रीमा सुधार गर्ने

काठमाडौं, १२ माघ। नेपाल वायुसेवा निगमले टिकट बिक्री व्यवस्थापनलाई थप प्रभावकारी बनाउन तयारी तीव्र पारेको छ।

यसै सन्दर्भमा नेपाल वायुसेवा निगमले टिकट बिक्री वितरण व्यवस्थापनमा देखिएका समस्या १५ दिनभित्र समाधान गर्न कार्यदल गठन गरेको छ। यसअघि निगमले नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा)सँग यस विषयमा छलफल गरेको थियो।

नेपाल वायुसेवा निगमका प्रवक्ता अर्चना खड्काले अहिले टिकटको बिक्री बढाउन र विदेशी पर्यटक भित्र्याउन कार्यदल गठन गरिएको बताइन्।

आठ सदस्यीय कार्यदलमा नेपाल वायुसेवा निगमका व्यवसाय निर्देशक जनकराज कालाखेती, अर्थ विभागका निर्देशक उमेश पौडेल, सामान्य सेवा तथा सम्पत्ति व्यवस्थापन निर्देशक अनिल घिमिरे र व्यापार विभागका उपनिर्देशक सन्तोष पाण्डे रहेका छन्।

त्यसैगरी कार्यदलमा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टका वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, महासचिव कुमारमणि थपलिया, कोषाध्यक्ष राजकुमार देवकोटा, कार्यसमिति सदस्य सबला भण्डारीलगायतको प्रतिनिधित्व रहेको छ।

टिकट बिक्री व्यवस्थापनलाई सरल बनाउन निगम र नाट्टाका उच्च पदस्थ अधिकारीहरूले छलफल गरेका थिए। ‘ग्रस फेयर’, ‘ग्रुप फेयर’, ‘चार्ज फ्लाइट’ र ‘भोइड टिकट’को सुदृढ व्यवस्थापन सुनिश्चित गर्ने साथै अन्य एजेण्डाहरू छलफलमा थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले माघ ९ गते निगमको प्रधान कार्यालयको स्थलगत निरीक्षण गर्दै नेपाल वायुसेवा निगमको टिकट (आन्तरिक तथा अन्तर्राष्ट्रिय) को अनलाइन बिक्रीलाई व्यवस्थित गर्न पदाधिकारीहरुलाई निर्देशन दिएका थिए।

तर निगमले आन्तरिक टिकटको अनलाइन बिक्री र वितरणको व्यवस्था गरिसकेको प्रवक्ता खड्काले बताईन। अनलाइन प्रणाली लागू भएपछि अन्तर्राष्ट्रिय कार्डवाहकहरूले पनि नेपाल वायुसेवा निगमको वेबसाइट प्रयोग गरी अन्तर्राष्ट्रिय टिकटहरू खरिद गर्न सक्नेछन्।

स्थानीय वालेट मार्फत टिकट खरिद गर्ने व्यवस्था माघ मसान्त भित्र सम्भव हुने निगमले जनाएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

संबन्धित समाचार
- Advertisment -spot_img

धेरै हेरिएको