काठमाडौं, १३ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंकी थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाएर सत्ताको उन्माद प्रदर्शन गरिएको बताएका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन साह र संघीय सरकारप्रति आक्रोश व्यक्त गर्दे ओलीले यस्तो बताएका हुन्।
मंगलबार च्यासलस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, ‘फुसका छाप्रा भत्काउन डोजर प्रयोग गरिएको छ। पक्की भवन भत्काउन हो र? त्यहाँ अशक्त होलान्, बालबच्चा होलान्। सुकुम्बासी हाम्रा शत्रु होइनन्। डोजर लगाएर त्यहाँ सत्ताको उन्माद देखाइयो।’
सोमबार थापाथलीस्थित सुकुम्बासी बस्तीमा एकीकृत बागमती सभ्यता विकास समितिले महानगरको समन्वयमा डोजर चलाएको थियो।
सुकुम्बासीका समस्या समाधान गर्न गठन गरिएको आयोग विघटन गर्दै सरकारले उनीहरूको समस्या समाधानमा गैरजिम्मेवारपन देखाएको ओलीको भनाइ थियो।
ओलीको धारणा प्रति मेयर बालेन लेख्छन…
धिकारसम्पन्न बागमती सभ्यताको आग्रह र समन्वयमा काठमाण्डौ महानगरले आफ्नो जिम्मेवारी पुरा गर्दै गरेको कार्यप्रति तपाईको धारणा थाहा पाएँ । तपाईबाट नै यस्तो धारणा आउनु सामान्य बिषय हो । किनभने, २०४७ यता १४ वटा आयोग गठन हुँदा पनि काठमाण्डौको सुकुम्वासी समस्या समाधान गर्न सक्नु भएन । मन्त्री र पटक पटक त्यो पनि दुईतिहाइको सरकारको प्रधानमन्त्रीसम्म हुनु भयो तर सुकुम्वासीले भोगेको ३२ वटा जाडो देख्नु भएन । सुकुम्वासीहरु तपाईका लागि भोट बैंक मात्रै रहे । बरु तिनलाई गुठी आन्दोलन जस्ता आफ्नो स्वार्थ विपरितका कुराहरुमा प्रयोग गर्नु भयो । त्यो पनि राजनीतिक स्वार्थवश् । तपाईलाई जनता, नदीनाला र नेवा सभ्यताको त्यत्रो माया भएको भए तपाईको नेतृत्वमा लुँहिटी (सुनधारा) सक्काएर सेतो टावर किन ठड्याउनु भयो ? हुनमान ढोकाको पुनर्निर्माणमा नेवा सभ्यताको मौलिकता नासेर विदेशीलाई निर्माण गर्न दिने कार्यलाई कसरी अगाडी बढाउनु भयो ? यी सबै हेर्दा नेवा सभ्यता जोगाउने, नदिक्षेत्रको अतिक्रमण रोक्ने कार्यको तपाईले बिरोध गर्नु असामान्य होइन ।
तर अब परिस्थिति फेरिएको छ । यसैले सकेको सहयोग गर्नुहोला तर कसैका विरुद्धमा कसैलाई प्रयोग गर्ने कुचेष्टा नगर्नुहोला ।