काठमाडौं, १७ कार्तिक। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालयका संसदीय राज्य सचिव बारबेल कोफ्लरको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले बुधबार अर्थमन्त्री जनार्दन शर्मासँग काठमाडौंमा भेटवार्ता गरेको छ।
अर्थ मन्त्रालयमा भएको भेटमा नेपाल र जर्मनीबीचको विकासका प्राथमिकताका क्षेत्रका साथै सहयोगको निरन्तरता, विभिन्न विषयमा आपसी हित र सहकार्यका विषयमा छलफल भएको थियो।
जर्मनीले नेपाललाई पुनः द्विपक्षीय सहयोग लिने देशको सूचीमा समावेश गर्ने घोषणा गरेको छ।
सो अवसरमा अर्थमन्त्री शर्माले नेपालको आर्थिक विकासका प्रयास र लोकतान्त्रिक प्रक्रियाका साथै कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा जर्मनीको निरन्तर सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो।
जर्मनीले लामो समयदेखि नेपालको दिगो आर्थिक विकास, ऊर्जा र स्वास्थ्यका क्षेत्रमा सहयोग गर्दै आएको छ।
अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय सहयोग महाशाखाका प्रमुख ईश्वरी अर्यालले नवीकरण ऊर्जा र स्वास्थ्य क्षेत्रमा पनि सहकार्य आदानप्रदानका विषयमा छलफल भएको बताए।
नेपालका लागि जर्मन राजदूत डा थोमस प्रिन्जका साथै नेपाल भ्रमणमा रहेका जर्मन प्रतिनिधिमण्डलका अन्य सदस्यहरुको समेत उपस्थिति रहेको थियो।