काठमाडौं, १५ कार्तिक। क्रिकेटर सन्दीप लामिछानेको बयान सकिएको छ। १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका उनको मुद्दा मंगलबार न्यायाधीश माधवप्रसाद घिमिरेसमक्ष इजलासमा परेको थियो।
बयान सकिएपछि भोलिदेखि थुनछेक बहस हुने अदालतका प्रवक्ता दीपक दाहालले जानकारी दिए।
सरकारी वकिलको कार्यालयले सोमबार सन्दीप लामिछानेविरुद्ध अदालतमा मुद्दा दर्ता गरेको थियो।
प्रहरीले कात्तिक ४ गते उनीविरुद्ध अनुसन्धान पूरा गरी कार्यालयमा प्रतिवेदन बुझाएको थियो। तर तिहारको बिदा सुरु भएपछि अदालतमा मुद्दा दर्ता हुन सकेको थिएन।
उनले भदौ ५ गते १७ वर्षीया किशोरीलाई काठमाडौंको एक होटलमा लगेर दुई पटक बलात्कार गरेको आरोप छ।
पीडित बालिकाले भदौ २१ गते आफूलाई बलात्कार गरेको भन्दै गौशाला प्रहरी चौकीमा उजुरी दिएकी थिइन्।
त्यतिबेला आरोपी लामिछाने केन्यामा थिए। त्यहाँबाट उनी क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेस्ट इन्डिज गए । उनीविरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनी नेपाल फर्किएनन् र प्रहरीले इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी गरेको थियो।
प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेपछि लामिछाने असोज २० गतेदेखि प्रहरी हिरासतमा छन्।
प्रहरीले उनीविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ जबरजस्ती करणी गर्न नहुने शीर्षकमा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्ष सम्म कैद सजाय मागदाबी समेत गरेको छ।
उक्त उपदफाको (घ) मा १६ वर्ष वा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिला भए १० वर्ष देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ।
प्रहरीले पीडितलाई क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ। क्षतिपूर्ति दिलाउन प्रहरीले सन्दीपको सम्पत्ति समेत छानविन गरी अभियोग पत्रमा उल्लेख गरेको छ।
आरोपपत्रमा उल्लेख गरिएको विवरण अनुसार सन्दीप लामिछानेको एनआइसी बैंकमा ६५ हजार २९८ रुपैयाँ मात्र रहेको पाइएको छ। त्यसबाहेक चितवन कल्याणपुर–७ मा रहेको जग्गा पनि खुलेको छ। उक्त सम्पत्ति फ्रिज गर्न पनि अनुरोध गरिएको छ।
सन्दीप लामिछानेले सरकारी वकिल कार्यालय र प्रहरीलाई बलात्कारको इन्कारी बयान दिएका छन्। उनले भदौ ५ गते राति काठमाडौंको होटलमा पुगेर एउटै कोठामा बसेको स्विकारेका छन्। तर उनले पीडित युवती बेडमा सुतेको र आफू कुर्सीमै सुतेको बयान दिएका छन्।