काठमाडौं, १२ भदौ। नेपाल र केन्याबीचको पाँच खेलको टी–२० सिरिजको तेस्रो खेलमा नेपालले केन्यालाई ४ विकेटले पराजित गरेको छ।
आइतबार भएको खेलमा केन्यालाई पराजित गर्दै नेपालले सिरिजमा २–१ को अग्रता बनाएको छ। यसअघि पहिलो टी–२० नेपालले र दोस्रो टी–२० खेल केन्याले जितेको थियो।
केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले तीन बल खेल्न बाँकी रहँदै ६ विकेटको क्षतिमा पार गरेको थियो।
नेपालका लागि पुर्ब कप्तान ज्ञानेन्द्र मल्लले ४१ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ४६ रन जोडे।
यसअघि ओपनर पवन सर्राफले १२ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० रन बनाएका थिए। डेब्यु खेलाडी अर्जुन साउदले ३१ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३५ रन जोडे।
दीपेन्द्रसिंह ऐरे ६ रन बनाएर आउट भए भने रोहित पौडेलले १८ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २९ रन जोडे।
त्यस्तै आदिल अन्सारीले उत्कृष्ट प्रदर्शन गरेका छन्। उनले ७ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १६ रन बनाए । विजयी बाउन्ड्री प्रहार गर्ने आरिफ शेखले नटआउट ४ रन जोडे।
बलिङमा केन्याका विराज पटेल र ओचिङले २–२ विकेट लिए। तेस्तै नेपालको बलिङमा सोमपाल कामी र आदिल अन्सारीले २–२ विकेट लिए।
पहिलो खेलमा नेपाल ५ विकेटले विजयी भएको थियो। दोस्रो खेलमा केन्या विजयी भएको थियो। दोस्रो खेलमा नेपालले खराब ब्याटिङका कारण हार बेहोरेको थियो। १३३ रनको लक्ष्य पछ्याएको नेपाल ११४ रनमा अलआउट भयो । टी–२० वरीयताका लागि महत्वपूर्ण मानिएको सिरिजमा पराजयसँगै नेपालले घाटा बेहोर्नु पर्ने देखिएको छ।
६ दिनसम्म पाँचवटा टी–२० खेल खेल्न लागेको नेपालले भोलि चौथो र पाँचौं खेल पर्सी खेल्नेछ।
तीन एकदिवसीय खेलमा नेपालले पहिलो खेल भदौ १७ मा, दोस्रो खेल भदौ १८ र तेस्रो तथा अन्तिम खेल भदौ २० मा खेल्नेछ।