काठमाडौं, १२ भदौ। त्रिभुवन विश्वविद्यालयले विद्यार्थी संगठनबाट धम्की आएको भन्दै सरकारसँग सुरक्षाको माग गरेको छ।
त्रिविले विज्ञप्ति जारी गर्दै नेपाल विद्यार्थी संघ, कीर्तिपुरले त्रिविका कर्मचारी तथा पदाधिकारी धम्की दिएको र तालाबन्दी, तोडफोड र घेराबन्दी गरेको आरोप लगाएको छ। कार्यालयमा छिरेर त्रिविको दैनिक प्रशासनिक काममा समेत अवरोध गरेको आरोप छ।
‘केन्द्रीय कार्यालयको मुख्य प्रशासनिक भवनमा तालाबन्दी गरिएको छ, जसका कारण त्रिविको दैनिक कामकाज ठप्प भएको छ। तालाबन्दी गरेर त्रिविलाई बन्धक बनाउन खोज्ने समुहलाई आवश्यक कारबाही गर्न र सुरक्षाकर्मीको ब्यबस्थापन गरी सुरक्षा व्यवस्था गर्न गृह मन्त्रालयलाई आग्रह गरेको छ।
त्यस्तै, खाता खण्डमा तालाबन्दीका कारण त्रिवि मातहतका देशभरका त्रिवि, कलेजका कर्मचारीहरु दुई महिनादेखि तलबबाट वञ्चित भएको विज्ञप्तिमा उल्लेख छ। साथै कलेजका रिटायर भएका कर्मचारीहरु पनि पेन्सन र उपदानबाट वञ्चित भएका विज्ञप्तिमा उल्लेख छ। राष्ट्रिय समाचार समिति