काठमाडौं, १९ साउन। अविरल वर्षाका कारण पानीको सतह बढेसँगै विपद्बाट बच्न सप्तकोशी ब्यारेजका ५६ वटा ढोका मध्ये ४६ वटा खोलिएको छ।
खोलामा पानीको बहाव बढेपछि उदयपुर, सप्तरी र सुनसरी जिल्लाका बासिन्दा त्रसित भएका छन्। पानीको बहाव प्रतिसेकेन्ड २ लाख ४३ हजार १ सय ८० क्युसेक मापन भएपछि ढोका खोलिएको हो।
सप्तरीका प्रहरी उपरीक्षक अभिनारायण काफ्लेका अनुसार कोशी नदी उदयपुरको बेलका नगरपालिकाको डुम्रीबोटेको पश्चिम बस्तीतर्फ सरेको भए पनि ब्यारेजबाट पानीको बहाव भने घटेको छैन।
उनका अनुसार अविरल वर्षा र कोशीको तीव्र बहावका कारण उदयपुरका २ हजार ५ सयभन्दा बढी विस्थापित भएका छन्। सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१३ मा रहेका सामुदायिक भवन र विद्यालय भवनहरु बगेका छन्।



