काठमाडौँ, २९ असार। नेपाल क्रिकेट संघले आयोजना गर्ने पहिलो र एकमात्र आधिकारिक टी–२० क्रिकेट लिग नेपाल टी–२० लाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले अनुमति दिएको छ।
मंगलबार एक विज्ञप्तिमा क्यानले भने अनुसार “यो धेरै महत्त्वपूर्ण विकास हो र यो संगै नेपाल अब शीर्ष अन्तर्राष्ट्रिय टी–२० क्रिकेट लिगको वरियतामा सम्मिलित भएको छ”।
प्रतियोगिताको पहिलो संस्करण सेप्टेम्बर २४ देखि अक्टोबर २२ सम्म काठमाडौंमा हुनेछ।
विज्ञप्तिमा भनिएको छ, “नेपाल टी-२० क्यानको सपनाको परियोजना हो र यसले नेपालको हरेक क्रिकेट फ्यानको आकांक्षालाई प्रतिबिम्बित गर्दछ। क्यानले नेपाल टी-२० को प्रमुख प्रेरणाको रूपमा नेपाली घरेलु क्रिकेट खेलाडीहरूलाई फाइदा पुर्याउन विशेष जोड दिएको छ”।
क्यानले यसअघि नै सेभेन थ्री स्पोर्ट्स प्राइभेट लिमिटेडलाई नेपाल टी–२० का लागि रणनीतिक तथा व्यावसायिक साझेदारका रूपमा सम्झौता गरिसकेको छ र लिग नियमन गर्न गभर्निङ काउन्सिल गठन गरेको छ। क्रिकेटको परिचालक निकाय अनुसार “क्यानले गरेको उत्कृष्ट कामको यो अर्को ठूलो कोसेढुङ्गा र उपलब्धि हो,”। “गत महिना, आईसीसीले नेपालबाट आर्थिक प्रतिबन्ध हटाएको थियो र देशमा क्रिकेट सञ्चालन र प्रवर्द्धनमा क्यानको शीर्ष शासनको प्रशंसा गरेको थियो,”।
देशको आधिकारिक प्रिमियर लिगको उद्घाटन संस्करणमा छ सहरमा आधारित फ्रेन्चाइज टोलीहरू छन् र उनीहरूले त्रिवि रंगशालामा होम र अवे ढाँचामा खेल्नेछन्।
खेलाडीलाई ए, बी र सी गरी तीन श्रेणीमा वर्गीकरण गरिने छ भने ‘ए’ श्रेणीका खेलाडीले १५ लाख रुपैयाँ र ‘बी’ श्रेणीका खेलाडीले १० लाख रुपैयाँ पाउनेछन्। त्यसैगरी ‘सी’ श्रेणीका खेलाडीले ५ लाख रुपैयाँ पाउनेछन्।