काठमाडौं, २७ असार। बीबीए छैटौं सेमेस्टरको अर्गनाइजेशनल बिहेभियर विषयको पश्नपत्र हुबहु मिलेको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति गठन गरेको छ।
यसअधि बीबीए छैटौं सेमेस्टरको अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजले आन्तरिक परीक्षाका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको भनि रद्द गरिएको थियो। यसैगरी नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयको प्रश्नपत्र भने अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेपछि विरोध भएको थियो।
आइतबार एक विज्ञप्ति जारी गर्दै त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएको समस्या तथा कमजोरीको अध्ययन गर्न छानबिन समिति बनाएको जानकारी दिएका छन्। यस्तै उनले प्रश्नपत्र निर्माणमा मर्यादा विपरीत काम गरेको पाइएको भन्दै सम्बन्धित व्यक्तिहरुलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमअनुसार कारबाही पनि गरिएको बताएका छन् ।