काठमाडौँ, ८ साउन। मौद्रिक नीतिपछि पहिलो दिन खुलेको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक हिजोको तुलनामा आज ३.०३ प्रतिशत बढेर २०७८.५१ बिन्दुमा बन्द भएको हो।
शुक्रवार २०१७.४६ बिन्दुमा १.३३ प्रतिशत घटेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से) परिसूचक आज ६१.०५ अंकले बढेको हो।
६४ लाख भन्दा बढी कित्ता शेयर खरिदबिक्री भएको आज २ सय १९ स्टकको ४२ हजार ९ सय ३१ पटक कारोबार भएको छ भने कुल रकम २ अर्ब ७३ करोड ०९ लाख ३७ हजार १ सय ९६ रुपैयाँ ५२ पैसाको कारोबार भएको छ।
नेप्से परिसूचक बढ्दा समृद्धि फाइनान्स कम्पनी लिमिटेड, सेन्ट्रल वित्त कम्पनी लिमिटेड, मल्टीपर्पस वित्त कम्पनी लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड र रिलायन्स फाइनान्स लिमिटेडको शेयरमूल्य सकारात्मक सर्किट लेवलमा कारोबार भएको हो र एक मात्र शेयर युनिलिभर नेपाल लिमिटेडको शेयरमूल्य सर्वाधिक ०.३८ प्रतिशत घटेको हो।
१.५४ प्रतिशतले बढेको शिवम सिमेन्ट्स लि, कारोबार रकमका आधारमा आज शीर्ष स्थानमा रहेको छ र ३९ करोड ७१ लाख ३१ हजार ५७ रुपैयाँ ४ पैसाको शेयर खरिदबिक्री भएको छ।
राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यसअघि लगाइएको शेयर धितो कर्जाको ४-१२ को सिमामा संशोधन गर्दै ४ करोडको सिमालाई खारेज गरेको छ। अब लगानीकर्ताले एउटा बैंकबाट १२ करोड रुपैयाँसम्म शेयर धितो कर्जा लिन पाउने भएका छन्।