काठमाडौं, १४ मंसिर। शृङ्खला खतिवडाले बिवाह गर्ने भएकी छन्। उनले प्रेमी सम्भव सिरोहियासँग यही मंसिर २८ गते विवाह गर्न लागेकी हुन्।
श्रृंखला र सम्भव करिब एक वर्षदेखि प्रेम सम्बन्धमा रहेको चर्चा छ। तर श्रृंखलाले करिब दुई महिना अगाडि मात्रै सम्भवसँग आफ्नो अफेयरको बारेमा सार्वजनिक गरेकी थिइन्। उनले सामाजिक संजालमा केही रोमान्टिक तस्वीर सार्वजनिक गर्दै ‘होपलेस–रोमान्टिक’ जोडी भन्दै संभवसँगको प्रेम सम्बन्धमा रहेको बताएकी थिइन्। उनीहरूको विवाह हायात होटलमा हुने बताइएको छ। विवाहको रिसेप्सन पनि पुस १ गते हायातमा नै राखिएको छ। तर पनि विवाहको बारेमा भने दुवैले कुनै जानकारी नदिए पनि अहिले दुवै पक्षको परिवार विवाहको तयारीमा व्यस्त छन् भन्ने खबर बाहिर आएको छ।
श्रृंखला नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी हुन्। उनी सन् २०१८ मा मिस नेपाल भएकी थिइन् भने सोही वर्ष मिस वर्ल्डमा भाग लिएर ब्यूटी विथ पर्पस अवार्ड जितेकी थिइन् भने यता सम्भव सिरोहिया कान्तिपुर मिडिया ग्रुपका प्रबन्ध निर्देशक हुन्।
श्रृंखला र सम्भवको प्रेम चर्चा सुरु भएको निकै समय भैसकेको छ। उनीहरुको इंगेजमेन्टसमेत भइसकेको गाईंगुईं पनि सुनिएको छ। किनकी केहि समयअघि सम्भव सिरोहियाका भाई अनुभव सिरोहियाको इंगेजमेन्टमा श्रृंखला पनि सहभागी थिइन्। जहा सम्भव र श्रृंखला ‘कपल’ को हिसाबले इंगेजमेन्टमा प्रस्तुत भएको जस्तो देखिन्थ्यो। सिरोहिया परिवारको तस्वीरमा समेत अटाएकी श्रृंखला सम्भवको आडमा देखिएकी थिइन। त्यो तस्वीरले उनी सिरोहिया परिवारको हिस्सा बनिसकेको संकेत गर्दथ्यो। यति मात्र होइन, अनुभवकी हुनेवाला पत्नी मयंका राणाले श्रृंखलाको खुट्टा छोएकी थिइन्।



