काठमाडौं, १८ असार। नारायणगढ–मुग्लिन सडकखण्डमा दुईतर्फी सवारी आवागमन सुचारु भएको छ।
इच्छाकामना–५, तीन नम्बरको पुलमा पहिरो खसेपछि आज बिहानैदेखि दुईतर्फी यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ।
पहिरो पन्छाएपछि सवारी आवागमन सामान्य भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए।
आज बिहान पहिरोमा परी ना ६ ख ७१० नम्बरको ट्रकका चालक पनि घाइते भएका छन्। घाइते चालकको मुग्लिन राजमार्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसअघि शनिबार रातिदेखि अवरुद्ध भएको सडक १८ घण्टापछि आइतबार साँझदेखि सञ्चालनमा आएको थियो।
बारम्बार पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध हुने गरेको छ।
जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम नभएसम्म सडकखण्ड प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ। (रासस)



